‘ओमिक्रोन’ भेरियन्टका संक्रमित जर्मनी र इटलीमा पनि

काठमाडौं । केही दिनअघि दक्षिण अफ्रिकामा पत्ता लागेको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित युरोपका थप स्थानमा फेला परेका छन् ।

बेलायत, जर्मनी र इटली सहितका केही मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । शनिबार बेलायतका २ जना व्यक्तिमा नयाँ भेरियन्ट फेला परेको छ । दक्षिण अफ्रिकाबाट आएका २ जनामा ओमिक्रोन देखिएको बेलायतका स्वास्थ्यमन्त्रीले बताएका हुन् ।

त्यस्तै, जर्मनीमा समेत नोभेमबर २४ गते दक्षिण अफ्रिकाबाट आएका २ यात्रुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको म्युनिखस्थित माइक्रोबायोलोजी केन्द्र म्याक भोन पेटेनकोभरले बताएको छ । इटलीमा पनि मोजाम्बिकबाट फर्किएका एक व्यक्ति ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको र दुई बालबालिकासहित परिवारका अन्य पाँच सदस्यमा समेत कोरोना संक्रमण पुष्टि भएको त्यहाँको समाचार माध्यम लाप्रेसेले जनाएको छ ।

चेक गणतन्त्रकी एक महिलामा पनि नयाँ ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको लिबेरेकस्थित क्षेत्रीय अस्पतालले जनाएको छ ।

यसअघि बेल्जियम, हङकङ, इजरालय र बोत्स्वानामा ओमिक्रोनका संक्रमित फेला परिसकेका छन् । ओमिक्रोन पत्ता लागेको समाचार बाहिर आएलगत्तै कैयौं मुलुकले दक्षिण अफ्रिकी क्षेत्रबाट हुने हवाई उडानमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

‘बी.१.१.५२९’ पनि भनिने ओमिक्रोनलाई विश्व स्वास्थ्य संगठनले ‘चिन्ताको विषय’ भनेको छ । यसअघिका भेरियन्टभन्दा बढी संक्रामक ठानिएको यसको उत्परिवर्तन क्षमता समेत धेरै रहेको छ । तर कोभिड(१९ का अन्य भेरियन्टभन्दा ओमिक्रोन थप खतरनाक वा गम्भीर छ वा छैन भनेर पुष्टि हुन भने बाँकी नै छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस