जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २५ भन्दा बढी घाइते

सुर्खेत । जाजरकोटमा आइतबार बिहान बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्जदेखि जाजरकोटको हुँदै रुकुम राडिबजार गइरहेको ना ६ ख २७५७ नम्बरको बस राति साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ कुदुमा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ की २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–३ करुवाका २५ वर्षीय शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीया गंगाराम यादवको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।

दुर्घटनामा २५ जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

दुर्घटना भएको बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ ।

बस दुर्घटनाको कारण खुलेको छैन । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस