दाङ । घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङले एक कार्यक्रमबीच सातौं उद्योग दिवस मनाएको छ । साना उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप उद्योग दिवस मनाईएको कार्यालयले जनाएको छ । उद्योग दिवसको अवसरमा दाङ जिल्लाका दश वटै पालिकाका साना उद्यमीहरूलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालय घोराहीका प्रमुख उमबहादुर वलीले बताए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग महासंघ, दाङ चेम्बर अफ कमर्श, जिल्ला लघुउद्यमी संघको विशेष सहयोगमा कार्यक्रम गरिएको कार्यालय प्रमुख वलीले बताए । कार्यक्रममा घोराही १६ उषा सिमेन्ट तथा टायल उद्योगी सञ्चालिका उषा रोका, लमही ५ लाङ्घाली मसला उद्योगकी गौसरा पुन, गढवा हडैया स्वर्गद्वारी रेशम खेती विकास अनुसन्धान तथा प्रशोधन केन्द्रका रामनाथ अधिकारी, राजपुरका स्टेण्ड्रड साल कवाव उद्योगका राजकुमार विश्वकर्मा, दंगीशरण भाग्यलक्ष्मी माहुरी फर्मका मेघबहादुर हमाल, बबई सुनगाभा माहुरी फर्मका गिरीमान खत्री, तुलसीपुर १५ विना माहुरी फर्मका आशिष अधिकारी, शान्ति नगर खड्का नर्सरी फर्मका लोकबहादुर खड्का र राप्ती गाउँपालिका एस.एम.वि. कापी उद्योगकी सञ्चालिका विजुला खत्री क्षेत्रीलाई सम्मान–पत्र सहित दोसल्ला ओडाई सम्मान गरिएको वलीले जानकारी दिए ।
उद्योग दिवसको अवसरमा बोल्ने अधिकांश वक्ताहरूले साना तथा मझौला उद्योगलाई राज्यले प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेश श्रेष्ठ, दाङ चेम्बर अफ कमर्शका अध्यक्ष वलदेव योगी, उपभोक्ताहीत संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष केशव कुमार शर्मा, घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधि प्रदिप मजगैँया, व्यवसायी विकास सोनी र माधव खनालले आ–आफ्नो भनाई राखेका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका कार्यालय प्रमुख उमबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय दाङकी साहयक प्रमुख जिल्ला अधिकारी सावित्रा राना रहेकी थिइन् ।
उमबहादुर वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत विक्रम के.सीले गरेका थिए ।