सर्वाेच्चमा आज २ बजे फुलकोर्ट बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएको छ । गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य थालनी गर्न बिहीबार फुलकोर्ट बस्न लागेको हो । बैठकले सम्भवत आगामी बुधबादेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकका सर्वोच्च अदालतका न्यायाधीशहरु सम्मिलित बुधबारको छलफलले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बोलाउने निर्णय गरेको थियो । सो को जानकारी न्यायाधीशहरूले मुख्य रजिष्ट्रारलाई बुधबार नै दिएका थिए । सोही आधारमा बिहीबार दिउँसो २ बजे फुलकोर्ट बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालत स्रोतकाअनुसार बिहीबार बिहानै सर्वोच्च प्रशासनले न्यायाधीशहरूलाई पत्र पठाएर २ बजे फुलकोर्ट राखिएको जानकारी गराएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, कुनै अमुक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेर भनेअनुसारको फैसला गर्न लगाएको, मन्त्रिपरिषद सदस्यको भागबण्डामासमेत मुछिएको लगायतका आरोप खेप्दै आएका छन् ।

जबरासँग असन्तुष्ट सर्वोच्चका न्यायायाधीशहरु र कानून व्यवसायीहरु उनीविरुद्ध उत्रिएका थिए । गोलाप्रक्रिया सुरु हुने भएपछि न्यायाधीशहरु नियमित इजलासमा फर्किए पनि जबराको नेतृत्व भने नस्वीकार्ने बताइसकेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस