महिला टी–२० क्रिकेटमा नेपाल हङकङसँग ६ विकेटले पराजित

काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले खराब सुरुवात गरेको छ । छनोट चरणको सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १०५ रनको लक्ष्य हङकङले १८ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो । हङकङको जितमा मारिको हिलले अविजित ४४ रन बनाइन् । एम्मालाई १४ रनमा अविजित रहिन् ।

नेपालका लागि कविता कुँवर, सीता राना मगर र सबनम राईले एक एक विकेट लिए । कप्तान रुबिना क्षेत्रीले ४ ओभरमा ३२ रन खर्चिएर पनि विकेट लिन सकेनन् ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हङकङले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १०४ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि सीता राना मगर र ईन्दु बर्माले सम्हालिएर ब्याटिङ गरेका थिए ।

सीताले ४० तथा ईन्दुले ३१ रन बनाए । २१ रनमै २ विकेट गुमाएको नेपालका लागि सीता र ईन्दुले ८१ रनको साझेदारी गरेका थिए । हङकङका बेटी चान र क्यारी चानले एक एक विकेट लिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस