
काठमाडौं । आजदेखि ए डिभिजन लिग सुरु हुँदैछ । ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ को उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दैछन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लडलाइटमा खेलाउँदैछ । यस खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अपराह्न ४ः४५ देखि बजे सुरु हुनेछ ।
पाँच दशकको इतिहास बोकेको फ्रेण्ड्स र पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको सातदोबाटो दुवै टिम लिगमा सुखद सुरुआत गर्ने लक्ष्यमा छन् ।
यस पटक फ्रेण्ड्सका प्रशिक्षक र कप्तान दुवै फेरिएका छन् । गोलकिपर प्रशिक्षकको रुपमा राष्ट्रिय टिमसम्म काम गरिसकेका मृगेन्द्र मिश्र फ्रेण्ड्सको प्रशिक्षक छन् भने मनाङ मर्स्याङ्दी र नेपाल पुलिसबाट खेलिसकेका डिफेण्डर सुरज विश्वकर्मा फ्रेण्ड्सको कप्तानका रुपमा छन् ।
उता सातदोबाटो शीर्ष डिभिजनमा नयाँ क्लब भए पनि प्रशिक्षक र कप्तान भने अनुभवी छन् । पछिल्लो पटक लिगमा थ्री स्टार क्लब हेरेका मेघराज केसीले यस पटक सातदोबाटोको प्रशिक्षण सम्हालेका छन् । यस्तै हिमालयन शेर्पाको कप्तान रहेका मानबहादुर तामाङ यसपटक सातदोबाटोको नेतृत्व गर्दैछन् ।
पहिलो पटक ए डिभिजन खेल्न लागेको सातदोबाटोले पहिलो खेलमै प्रतिस्पर्धा गर्दैछ । एन्फाले फुटबल कल्चर विकास गर्ने लक्ष्यसहित यस पटक विकेन्डमा लिगका खेलहरु गराउँदैछ । यस्तै दर्शकलाई आकर्षित गर्नका लागि टिकट दर पनि एक सय मात्र राखिएको छ । भिआईपीतर्फ भने ५०० टिकट मूल्य राखिएको छ ।
लिगको विजेताले नगद ७५ लाख पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्नेछ । नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।