दाङ –
दाङमा दशैँ र तिहारको अवधिमा ५९ जुवाडे पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर, घोराही लगायतका पाँच ठाउँबाट १० लाख बढी नगदसहित ५९ जना जुुवाडेलाई पक्राउ गरेको हो ।
चाडपर्वको समयमा दाङमा जुवाडेहरु बढी सक्रिय हुने गरेका छन् । रमाईलोका नाममा खेलिने जुवातासले समाजमा पछिल्लो समय विकृति भित्रिएको भन्दै प्रहरीले जुवाडेमाथि निगरानी बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङक अनुसार गत असोज ७ गते १२ जना जुवाडे १ लाख ३५ हजार नगद र असोज २४ गते १३ जना जुवाडे २ लाख ७ हजार ३ सय रुपैयाँसहित पक्राउ परेका थिए ।
त्यसैगरी गत कार्तिक १३ गते ८ जना जुवाडे १ लाख ९८ हजार २ सयसहित पक्राउ परेका थिए । यस्तै कार्तिक १५ गतेमात्रै २० जना जुवाडे ४ लाख ६४ हजार ८८१ रुपैयासहित पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत मुद्धा चलाएको जिल्ला प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालले बताउनुभयो ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ को उपदफा ६ बमोजिम पहिलो पटकलाई तीन महिनासम्म कैद वा ३० हजार जरिवाना, दोस्रो पटकमा १ वर्षसम्म कैद र ५० हजार रुपैँयासम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।


