सल्यान–
सामाजिक संजाल फेसबुकमा जनप्रतिनिधिलाई छोटे राजा भनेको आरोपमा सल्यानमा एक वडा कार्यालयले सेवामा प्रतिबन्ध लगाएको छ । बागचौर नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले स्थानीय युवक दिल केसीमाथी प्रतिबन्ध लगाएको हो ।
केसीले वडाध्यक्ष र सदस्यलाई छोटो राजा भन्दै फेसबुकमा विभिन्नखाले टिप्पणी गरेको वडाको आरोप छ । जनप्रतिनिधिलाई छोटेराजा भनेको टिप्पणी अमर्यादित भएको भन्दै बिहीबार वडाध्यक्ष प्रेम बहादुर पुनले प्रेस विज्ञप्तिमार्फत केसीलाई वडाबाट दिईने सम्पूणर् सेवा बन्चित गरिएको जानकारी दिनुभयो । वडा अध्यक्ष पुनले विज्ञप्तीमार्फत केसीले सामाजिक संजालमा लेखिएका अभिव्यक्तहरु सच्याउन आग्रह समेत गर्नुभएको छ ।
कहाँबाट सुरु भयो विवाद
सामाजिक संजालमा छोटे राजा भनेर अभिव्यक्ति लेख्ने दिल केसीका भाई खुमराज केसीले १० महिना अगाडि यहि वडाका एकजना वडा सदस्यकी भतिजीलाई बिहे गरेका थिए ।
बिहे भएको ७ महिना पछि खुमराजलाई श्रीमतीले बलात्कारको मुद्दा हालिन् । लगत्तै खुमराज पक्राउ परे । श्रीमती बलात्कारको यो मुद्दा अहिले जिल्ला अदालत सल्यानमा छ भने खुमराज जिल्ला कारागार सल्यानमा छन् ।
यहि विषयलाई लिएर दिल केसीले आफ्नो भाईलाई वडा सदस्य र वडाध्यक्षको योजनाअनुसार फसाइएको भन्दै सामाजिक संजाल फेसबुकमा लेख्दै आएका छन् । उनले पैसाको बार्गेनिङ नमिल्दा भाईलाई बुहारीले बलात्कारको मुद्दा हालेको बताउँछन् ।
उक्त पैसाको बार्गेनिङ वडाका जनप्रतिनिधिले गरेको आरोप लगाउँदै फेसबुकमा अभिव्यक्ति दिएका थिए ।


