
चन्द्रौटा । कपिलवस्तुको चन्द्रौटामा गएराती दुई पसलमा आगलागी हुँदा ९० लाख बढीको क्षति भएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटा चोकदेखि पश्चिममा रहेका दुई पसलमा राती करिब १० बजे आगो लागेको स्थानीयहरूले बताएका छन् ।

चन्द्रौटा फिक्स सप र ल्यापटप हस्पिटल तथा सेल्स पसलमा आगलागी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।
आगोलागीबाट दुवै पसलका सबै सामान जलेर नष्ट भएका छन् । आगलागीबाट दुवै पसलमा ९० लाख बराबरको क्षति भएको अनुमान रहेको छ । फेन्सी पसलको ५० लाख र कम्प्युटर पसलको ४० लाख बढीको सामग्री जलेको सञ्चालकहरूको भनाई छ ।
आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली, स्थानीय र दमकलको सहयोगमा करिव दुई घण्टा पछि नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
कम्प्युटर पसल भित्रको बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।