
दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका ५४ वर्षीय लालबहादुर वलीको गुडिरहेको गाडीको सिटमै मृत्यु भएको छ । रुकुमबाट तुलसीपुर हुँदै नेपालगञ्जका लागि छुटेको बा प्र–०१००६–ख २५९४ नम्बरको हाइसको सिटमा बसेको अवस्थामा वली मृत्यु भएको हो ।
सिटमा बसेका वलीको मृत्यु भइसकेको कुरा गाडीभित्रका कसैलाई पनि थाहा नपाएको प्रहरीले जनाएको छ । सल्यानको थारमारेमा आएर खाना खान गाडी रोकिएपछि मात्रै वलीको मृत्यु भइसकेको कुरा यात्रुले थाहा पाएको जिल्ला प्रहरी कार्यालय सल्यानका हवल्दार वीरेन्द्र खड्काले बताए ।
टाउकोमा ढाँका टोपी लगाएर थोरै घोप्टो परेर बसेको अवस्थामा रहेको हुँदा कसैले पनि मृत्यु भएको होला भन्ने अनुमान नै नगरेको हवल्दार खड्कले बताए । खाना खाएर आइसकेपछि भतिजी नाता पर्ने महिलाले बोलाउन खोज्दा वली नबोलेपछि उनको मृत्यु भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेको हवल्दार खड्काले बताए मृतक वली अल्सरका बिरामी रहेको आफन्तले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार वली रुकुम पश्चिमको चौरजहारी नगरपालिका १२ नुवाकोटमा तिहारको टीका लगाउन गएका थिए ।