तुलसीपुर । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्ली चौधरीले मानव जीवनलाई शान्ति अतिआवश्यक रहेको बताएका छन । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय तुलसीपुरले आइतबार आयोजना गरेको बधाई, स्वागत, सम्मान एवम् स्नेह मिलन कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन ।
देश यतिबेला भागदौडमा अल्झिरहेको छ, भागदौडमा होइन मानव जीवनलाई शान्ति चाहिन्छ । धर्मले नै देशमा संविधानहरु बनेको बताउँदै मन्त्री चौधरीले धर्म सबैभन्दा माथि रहेको बताए । उनले जबसम्म आफ्नो जीवनमा आध्यात्मिकलाई महत्व दिदैंनौं तबसम्म सकारात्मक दृष्टिकोण बन्न नसक्ने बताए ।
साथै उनले दाङमा धार्मिक पर्यटनलाई अगाडी बढाउन प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्रका क्षेत्रीय प्रमुख गिता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले तुलसीपुर नगरका अध्यक्ष माधब वली, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष खुशीराम चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेत, नेपाल पत्रकार महासंघ दाङक कोषाध्यक्ष शरद रेग्मी, तुलसीपुर नगर जेसिजका अध्यक्ष नारायण भट्टराई, साहित्यकार भावना न्यौपाने लगायतले समाजमा शान्ति फौलाउन विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका नवनिर्वाचित व्यक्तिहरुलाई स्वागत एवम् सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण ब्रह्माकुमार शिबलालले गरेका थिए ।