सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिने भएका छन् । पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार नै पदबाट राजीनामा दिन लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।
नेता शाहीकाअनुसार केही प्रक्रियाहरु पूरा हुँदैछन् । आज बेलुकासम्म राजीनामा आउँछ । गत वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो ।
सोही सहमति अनुसार तत्काल पदबाट राजीनामा दिनुपर्ने कांग्रेसले दबाब दिँदै आएको छ । कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीताकुमारी नेपालीका अनुसार मुख्यमन्त्री शाहीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सो बैठकबाट शाहीले राजीनामा दिने बताइएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार