तुलसीपुर । दाङको तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ को फाइनलमा सक्सेस फुटबल क्लब प्रवेश गरेको छ ।
हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा सञ्चालित प्रतियोगिताको आइतबार सम्पन्न सेमिफाइनल खेलमा युएनबिसी घोराहीलाई सुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै सक्सेस फुटबल क्लबले फाइनल यात्रा तय गरेको हो ।
उल्लेख्य दर्शकले भरिएको अरनिको खेल मैदान तुलसीपुरमा भएको शानदार खेलको ६७ औ मिनेटमा जर्सी नं. ८ का खेलाडी ब्रिजेश चौधरीले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । त्यस्तै जर्सी नं. ९ आशिष जिसि थिङकीले प्रहार गरेको बललाई सदुपयोग गरेका जर्सी नं. १० का सन्जु सेनले खेलको ७२ औ मिनेटमा गोल गर्दै टिमलाई २–० को जित दिलाउन सफल भए ।
खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने जर्सी नं. ४ का खेलाडी सबिन ओली म्यान अफ द म्याच घोषित भए । उनले नगद १५ सय र ट्रफी हात पारे ।
त्यस्तै पहिलो गोलकर्ताको पुरस्कार जर्सी न ८ का बिैजेस चौधरीले हात पारे । यसैबिच प्रतियोगिताको दोस्रो सेमिफाइनलमा टरिगाउँ फुटबल क्लब तुलसीपुर १२ र साहारा क्लब लखनउ भिड्ने भएका छन् । खेल दिउँसो साढे दुई बजेपछि हुने प्रतियोगिताका संयोजक केशब चौधरी मिङमाले जानकारी दिएका छन् ।
प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ६० हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तिगत बिधातर्फका वेस्ट प्लेयर खेलाडी, बेस्ट किप्पर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, हाई स्कोरर, बेस्ट कोच, बेस्ट मार्चपासलाई जनही ५ हजार तथा ट्रफीले पुरस्कृत गरिनेछ । साथै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई ट्रफिको ब्यवस्था गरिएको छ ।