
सल्यान-
सल्यानमा तरकारी व्यापारीको नगद लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । गत ८ गते सल्यान कपुरकोट गाउँपालिका-१ कालापात्ला जङ्गलमा व्यापारीको गाडी तोडफोड गरि नगद रकम लुटने एक जनालाई सल्यान प्रहरीले पक्राउ गरेको हो ।
नेपालगन्जबाट तरकारी किन्न आएका व्यापारी सेराज हलुवाइको साथबाट नगद ३ लाख लुटपाट गरि फरार भएका मध्ये रोल्पा सुनछहारी गाउँपालिका वार्ड न ७ घर बताउने ३० वर्षिय तिलक बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरी टोलिले बिकलाई रोल्पा रुन्टिगढी गाउँपालिका वडा नम्बर ८ गर्पा खोलाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका बिकलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको साथै लुटपाटमा संलग्न अन्य ब्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।