हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आज विश्वासको मत लिँदै छिन् ।
आज दिउँसो १ बजे बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुन लागेको हो। मतदानको लागि आवश्यक सम्पुर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।
मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।
प्रदेशसभाले विश्वासको मत विभाजनका लागि कार्यविधि पनि तयार गरिसकेको छ । कार्यविधिमा पक्ष, विपक्ष र नो भोटको व्यवस्था गरिएको छ। गत असोज २४ बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन्।
विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ। बागमतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ।
मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन्। नेकपा एमालेका १३ सांसद् एकीकृत समाजवादीतिर लागेपछि शाक्य अल्पमतमा परेकी हुन्।