सल्यान-
सल्यानमा चालु आर्थिक वर्षको तीन महिनामा ५८ वटा आपराधिक घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार साउन, भदौ र असोज महिनामा कर्तव्य ज्यानका तीनवटा, ज्यान मार्ने उद्योगका ५ वटा र भवितव्य ज्यानका ७ वटा घटना भएका छन् ।
यस्तै जबरजस्ती करणीका ६ वटा र जबरजस्ती करणी उद्योगका ४ वटा घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।
यस्तै बहुविवाह तीन, बालविवाह एक, बोक्सी आरोप एक र नैतिकता विरुद्धको कसुरका एक, सवारी चोरी एक, हातहतियार खरखजना ३, अभद्र व्यवहारका ३, सवारी ज्यान २ र सवारीबाट भवितव्यका ३ वटा घटना भएको प्रहरीले जनाएको छ ।
सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द थापाले प्रहरी, नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्ने लगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भएपनि जिल्लामा आपराधिक घटनामा भने कमी आउन नसकेको बताउनुभयो ।