तत्काल ब्याजदर घटाउन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । निक्षेपको ब्याजदर बढाएका बैंकहरुलाई नेपाल राष्ट्र बैंकले तत्कालै ब्याजदर घटाउन निर्देशन दिएको छ । ब्याजदर बढाएका बैंकहरुलाई बुधबारभित्रै नयाँ ब्याजदर तोकेर बुधबारदेखि नै लागू गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले समयसीमा नै तोकेर बैंकहरुलाई ब्याजदर घटाउन पहिलो पटक यस्तो निर्देशन दिएको हो । कात्तिकका लागि नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका बैंकहरुले तीन वर्ष यताकै उच्च ब्याजदर दिने घोषणा गरेका थिए ।

यसको असर शेयर बजारमा समेत नकरात्मक परेको छ । बैंकहरुले मनपरी गर्न थालेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।

मंगलबार साझ तीन बुँदे निर्देशन जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अघिल्लो प्रकाशित ब्याजदरमा १० प्रतिशतमात्रै परिवर्तन गर्न सक्ने बताएको छ ।

हिमालयन, एनआईसी एसिया, सिद्धार्थ, एनसीसी लगायत आधा दर्जन बढी बैंकहरुले ब्याजदर दोहोरो अंकमा पुर्याएका छन् । राष्ट्र बैंकको निर्देशन पछि अब बुधबारनै यी बैंकहरुले ब्याजदर घटाएर नयाँ ब्याजदर वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस