साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता


दाङ-
माल्दिभ्समा गएराती सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । साफको इतिहासमा पहिलो पटक उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा सिमित भएको हो ।

माल्दिभ्सको राजधानी मालेमा भएको फाइनल खेलमा भारतले नेपाललाई तीन शून्यले पाखा लगाउँदै ८ औं पटक उपाधि उचाल्यो । फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर, दोस्रो हाफ सुरु भए लगत्तै भारतले ४६ औं र ४७ औं मिनेटमा लगातार दुई गोल गरेपछि नेपालको उपाधि उचाल्ने सपना तुहिएको थियो ।

खेलमा नेपालका तर्फबाट गोलका थुप्रै प्रयास भए पनि भारतीय किपरले बचाएका थिए । प्रतियोगतामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंकामात्र सहभागी थिए । यो पटक राउण्ड रोबिनमा लिग खेलाइएको थियो । लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने बंगलादेशसँग बराबरी खेलेको थियो । लिग चरणमा पनि नेपाल भारतसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २०७८ असोज ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस