दाङ, ३१ असोज ।
दसैँको रमाइलो सकिन नपाउँदै नेपालीहरू भारत जान थालेका छन् । दसैँका लागि भन्दै भारतका विभिन्न स्थानबाट नेपाल फर्केका उनीहरू राम्रोसँग दसैँ मनाउन नपाउँदै भारत फर्कन थालेका हुन् ।
दाङको शान्तिनगर-२ का पदम बस्नेत पनि दसैँ राम्ररी मनाउन नपाउँदै रोजगारीका लागि भारत पसेका छन् । दसैँ मनाउन २७ असोजमा उनी रुपेडिया पुगेका थिए । तर, छुट्टी धेरै नपाइएका कारण राम्ररी दसैँ मनाउन नपाउँदै भारत फर्कनु परेको उनले बताए ।
‘दुई वर्षपछि दसैँ मनाउन घर आएको हुँ,’ उनले भने, ‘आफन्त र नातागोताका सबैलाई भेट्ने र टीका थाप्ने इच्छा थियो, छुट्टी कम भएका कारण सबैलाई बिर्सेर भारत पस्दैछु ।’
स्वदेशमा रोजगारी नपाइने र भारतमा पाइएको राजगारी गुम्ने डरले दसैँ राम्ररी मनाउ नपाउँदै नेपालीहरू भारत जान थालेका हुन् ।
‘यता बसेर न त काम पाइन्छ, न त कमाउने जमिन नै छ,’ दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का शेरबहादुर विश्वकर्माले भने, ‘बालबच्चा र बुबा आमालाई पाल्नुपर्ने दायित्व ममा छ, उनीहरूको खुसीका लागि दसैँको रमाइलो बिर्सेर भारत जाँदै छु ।’
२५ असोजमा भारतको नोयडा राज्यबाट दसैँ मनाउन नेपाल आएको उनले बताए । ‘घर परिवार र आफन्तसँग रमाइलो गर्ने इच्छा हुँदाहुँदै सबै बिर्सनु परेको छ,’ उनले भने, ‘आफ्नै देशमा रोजगारी पाएको भए यसरी फर्कनुपर्ने थिएन होला ।’
‘अहिले भारतका होटेलमा ग्राहक बढी आउने गर्दछन्,’ सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ का गुमान विश्वकर्माले भने,’ होटल क्षेत्रमा काम गर्ने नेपालीले सायद छुट्टी पाउँदैनन्, पाइहाले पनि छोटो समयका लागि मात्रै छुट्टी पाइन्छ, अनि बाध्य भएर भारत फर्कनु पर्दछ, कि त नोकरी छोड्नु पर्दछ ।’