कपिलवस्तु । लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिन नेपालले कपिलवस्तुले विकासमा प्राथमिकता पाउने बताउनुभएको छ ।
विकासमा पछाडि परेको जिल्लालाई आफूले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपाली काँग्रेस शिवराज नगर समितिले चन्द्रौटामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नेपालले पर्यटनको विकास आजको महत्त्वपूर्ण विषय रहेको बताउनुभयो ।
कपिलवस्तुमा धार्मिक तथा पर्यटकीय स्थलहरू रहेकोले यी स्थललाई संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो । ढल निकास नहुँदा तथा सरसफाईको कमिले कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप बढेकोले त्यसमा नागरिकहरू सचेत बन्दै सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले विकासमा कसैलाई पक्षपात नगरी समग्र जिल्लालाई हेर्न सुझाव दिनुभयो । नेपाली काँग्रेसले सधैँ जनताको हक अधिकारको लागि लड्ने भएकोले जनताको गरेको प्रतिविद्धतालाई पुरा गर्न राज्यमन्त्री नेपाललाई आग्रह गर्नुभयो ।
जिल्ला उपसभापति अब्दुल कलाम,हुमाकान्त खनाल, अजय थापा लगाएतले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । नगर सभापति मधु पोख्रेलको अध्यक्षतामा उपसभापति करम हुसेनको स्वागत मन्तव्यमा रहेको कार्यक्रम विष्णु पोख्रेलको सञ्चालनको सम्पन्न भएको हो ।