
दाङ । दाङको तुलसीपुरमा सञ्चालित दोस्रो ईन्टर दाङ भ्याली टि–२० क्रिकेट च्याम्पियनसिपमा त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लब तुलसीपुर र तुलसीपुर स्पोर्ट्स एकाडेमीले बिजयी सुरुवात गरेका छन् ।
डिभिसिसि दाङको आयोजना तथा पार्टी फ्लो रेस्टुरेन्ट तुलसीपुरको मुख्य प्रायोजनमा महेन्द्र माबी खेलमैदान तुलसीपुरमा शनिबार भएको उद्घाटन खेलमा बुटुनिया युथ क्लब तुलसीपुरलाई ५ विकेटले पराजित गर्दै डिफेण्डिङ च्याम्पियन त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लव तुलसीपुरले बिजयी यात्रा सुरु गरेको हो ।

त्यस्तै सिटि स्पोर्ट्स क्लब शान्तिनगरलाई ६ विकेटले पराजित गर्दै तुलसीपुर स्पोर्ट्स एकाडेमीले आफ्नो बिजयी यात्रा सुरु गर्यो । उद्घाटन खेलमा टस जितेर ब्याटिङ गर्न खेल मैदान उत्रिएको बुटुनिया युथ क्लबले २० ओभरको समाप्तिमा आफ्ना सबै विकेटको क्षतिमा ८७ रन जोडेको थियो । जसमा अर्पन चौधरीले ४१ रनको योगदान दिएका थिए । त्यस्तै बलिङतर्फ त्रिसिद्धेश्वरीका आश्विनले ३ विकेट लिए ।
८८ रनको बिजयी लक्ष्य पच्छाएको त्रिसिद्धेश्वरीले ११ दशमलव ३ ओभरमा आफ्ना ५ विकेटको क्षतिमा सो लक्ष्य भेट्टाएको थियो । जसमा थम्मन ओली २९ र शंकर बुढाले १८ रन जोडे । बुटुनियाका हरिसले २ विकेट लिए । खेलमा सर्वाधिक ३ विकेट २४ रनको योगदान दिएका आश्विन म्यान अफ द म्याच भए ।

त्यस्तै सिटि युथ क्लब शान्तिनगरले दिएको ८५ रनको बिजयी लक्ष्य तुलसीपुर स्पोर्ट्स एकाडेमीले ११ दशमलव ३ ओभरमा आफ्ना ४ विकेटको क्षतिमा भेट्टाएको थियो । जसमा कमल चौधरीले सर्वाधिक ३८ र विशालले २१ रनको योगदान दिए ।
खेलमा सर्वाधिक ४ विकेट लिन सफल तुलसीपुर स्पोर्ट्स एकाडेमीका सन्दीप नेपाली म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत आईतबार ३ खेल हुनेछन । बिहान ८ बजे हुने पहिलो खेलमा वाई ओ टि र भ्यालिजुनिएर घोराही, दोसो खेलमा द आरसिसि र डिएससिसि र तेस्रो खेलमा पुरन्धारा र सिवाईसिएस भिड्नेछ्न् ।
यसैबिच प्रतियोगिताको उद्घाटन क्लबका अध्यक्ष आभाष बुढाथोकीको अध्यक्षता तथा नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालको प्रमुख आतिथ्यमा भएको थियो ।
पहिलो संस्करण सफलता पुर्बक सम्पन्न गरेको डिभिसिसीले जिल्लामा क्रिकेट खेलको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रिकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ क्रिकेट च्याम्पियनसिपको आयोजना गरेको बताएको छ । प्रतियोगिताको बिजेताले नगद ४० हजार ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।