
बिजौरी । धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय एवं पुरातात्विक महत्व बोकेको छिल्लीकोटको कालिका मालिका मन्दिरदेखि केही तल गणेशथान मन्दिर निर्माण सुरु भएको छ । परापुर्वकालदेखि चर्चित रहेको त्यहाँको गणेशथान सडक निर्माणका क्रममा अप्ठेरो स्थानमा परेपछि गणेश भगवानको शीरलाई यथास्थानमा माथि सारेर मन्दिर निर्माण थालिएको हो ।

धार्मिक गुरुहरुको सल्लाह बमोजिम छिल्लीकोटको साविक गणेशथानभन्दा केही माथि मन्दिर निर्माण हुन लागेको छिल्लीकोटस्थित कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर वलीले बताएका छन् । सो मन्दिरको घटस्थापनाको अवसर पारेर धार्मिक संस्कार सहित पुजाआजा गरेर शिलान्यास गरिएको हो ।
मन्दिर निर्माणले गणेश भगवानका भक्तहरुलाई मन्दिरमा दर्शन गर्न सहज हुने अपेक्षा मन्दिर निर्माणकर्ता तुलसीपुर उपमहानगरपालिका—१८का स्थानीयबासी टेक बहादुर डाँगी(तिलक)ले बताएका छन् । उनले २/४ जना भक्तजनहरुलाई मन्दिरभित्रै बसेर पुजाआजा गर्न सकिने गरी मन्दिर निर्माण हुन थालेको बताएका छन् । पक्कि पिल्लर सहितको पर्खाल र ढलान सहित मन्दिर निर्माण गर्ने गरी घटस्थापनाकै दिनदेखि मन्दिर निर्माण सुरु गरिएको हो ।

छिल्लीकोटको कालिका मालिका मन्दिरसँगै अर्को विशेष धार्मिक महत्व राख्ने गणेशथान मन्दिर पनि यस क्षेत्रको एउटा धार्मिक पर्यटनको आधार बन्ने स्थानीयबासीहरुले बताएका छन् । मन्दिर निर्माणको काम एक महिनाभित्रै सम्पन्न हुने र मन्दिरमा गणेशको मुर्ति प्रतिस्थापन गरिने बताइएको छ ।