तुलसीपुरमा चाडपर्व लक्षित गरी दिउँसोमा पनि मापसे चेकजाँच


तुलसीपुर । इलाका प्रहरी कार्यालय तुलसीपुरले नजिकिदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाएको छ । कार्यालयले चाडपर्वलाई मध्येनजर गरेर तुलसीपुरको बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।


चार्डपर्वको समयमा यात्रुहरुको चाप अत्यधिक हुने भएका कारण सहज र सुरक्षित यात्राका लागि सहायता कक्ष स्थापना गरिएको इलाका प्रह्री कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा व्यवस्था मिलाइएको हो । चाडपर्वको समयमा अपराधिक गतिविधिहरु अत्याधिक मात्रामा बढने भन्दै उनले बढी आर्थिक कारोवार हुने पसलहरुमा सादा पोसाकमा प्रहरीहरु परिचालन गरिने बताए ।


शनिवार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डिएसपी अर्यालले चाडपर्वका बिचमा हुने मेला महोत्सवहरुको पनि सुरक्षा व्यवस्था मिलाइएको बताए ।

त्यस्तै उनले चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या बढ्ने र दुर्घटना हुनसक्ने कुरालाई मध्यनजर गर्दै रात्रिकालीन मात्र नभई दिनको समयमा समेत व्यापक रूपमा मापसे चेकजाँच गरी कडाइ गरिने बताए ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस