
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को उपाधि चितवनले जितेको छ । कमल सिंह ऐरीको उत्कृष्ट बलिङ अनि भीम सार्कीको अर्धशतकको मद्दतमा चितवन उपाधि जितेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलो पटक च्याम्पियन बनेको हो ।
पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५.५ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्यो। चितवनका लागि भीम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए ।
यस्तै दिलिप नाथले १८, राजेश पुलामीले १४ र मोहम्मद शाहाजादले ११ रन जोडे । चौथो ओभरको अन्तिम बलमा मोहम्मद शाहाजाद ११ रन बनाएर आउट भएपछि चितवनले ४ ओभरमा २० रन बनाउँदा ३ विकेट गुमाएको थियो । भीम र दिलिपले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरे ।
सर्वाधिक ६३ रन बनाएका भीम १६ औं ओभरमा आउट भए । त्यसपछि कप्तान सोमपाल कामीले पहिलो बलमै चौका प्रहार गर्दै चितवनलाई जीत दिलाए ।