दाङ । शम्भु राइकोे यो गीत सुन्दा अहिले युवापुस्तालाई अनौठो लाग्न सक्छ । कुनै समय चिठीपत्रको जमाना थियो, अर्थात आफन्तजन र प्रेमी-प्रेमिकाको खबर हल्काराले बोकी हिँड्ने सन्देश चिठ्ठीमा हुन्थ्यो, तर अहिले चिठी होइन, इमेल र सामाजिक सञ्जालका ‘इनबक्स’मा आफन्तको सुखदुखका सन्देश खस्ने गरेका छन् ।
उ बेला घरछेउबाट हल्कारा अगाडि बढ्दै गर्दा आफन्तजनको चिठ्ठी हातमा पर्ने आशा हुन्थ्यो । टाढा रहेका आफन्तका सुख, पीडा र व्यथा तिनै चिठ्ठीमार्फत आउने गर्दथ्यो । विगतमा गाउँ-गाउँ पुग्ने हुल्कारा नै खबर आदान प्रदानका संवाहक थिए । घरबाहिर स्वदेश वा विदेशमा रहेका आफन्तजन र साथीसँगीका हाँसो र पीडा अभिव्यक्त हुन्थे, चिठ्ठीपत्रमा । परदेसिएका पतिको खबर थाहा पाउन हल्काराको बाटो हेरेर बस्थे पत्नीहरु । बाबुको खबर थाहा पाउन सन्तान र छोरा-छोरीको सञ्चोविसञ्चो थाहा पाउन बाबुआमाहरु हल्काराको पर्खाइमा हुने गर्दथ्यो ।
एक दशक यता समयले कोल्टे फेरेको छ । झोलाभरि गाउँलेका सुख, दुःख बोकी हिँड्ने हल्काराहरु देखिन छाडेका छन् । शहर-बजारमा राखिएका पत्र मञ्जुषा पनि अब खाली-खाली हुन थालेका छन् तर सामाजिक सञ्जाल र इमेलको इन्बक्समा सन्देश भरिन थालेका छन् ।
अनि हात-हातमै रहेका मोबाइलमा बज्ने घण्टीले सन्देश लिने गरेको छ । हुलाक कार्यालय दाङ प्रमुख शोभाराम बस्नेत उ बेला बोरोका बोरामा पत्र आउने गरेको बताउँछन् । ‘करिब २०६७/२०६८ यताबाट हुलाकामा पत्र आउन छोडेको हो ।’ उनले भने-‘अहिले करिब १० प्रतिशतमात्रै व्यक्तिगत चिठी आउने गरेको छ, बाँकी ९० प्रतिशत कार्यालयका चिठीमात्रै आउने गरेका छन् ।’
बदलिँदो परिस्थितिसँगै हुलाक कार्यालयले अन्य सेवाहरु विस्तार गर्दै लगेको उनले बताए । ‘हुलाक कार्यालयको काम चिठीपत्र आदान-प्रदान गर्ने हो भन्ने धेरैमा बुझाई छ’ उनले भने-‘ तर पछिल्लो समयमा हुलाक कार्यालयले चिठीपत्र आदानप्रदान संगै अन्य धेरै किसिमका सेवा दिने गरेको छ ।’ हुलाक कार्यालयले चिठीपत्रको आदानप्रदानसंगै हुलाक टिकट बिक्रि सेवा, बहुमूल्य सामान (नगद तथा जिन्सी) पठाउनका लागि धनादेश सेवा प्रदान गरिरहेको उनले बताए ।
सुचनाको हक कार्यान्वयन गराउने काम, पत्रकारलाई रातो कार्ड बनाउने काम, पत्रपत्रिका तथा रेडियो टेलिभिजनको नविकरण र लोक कल्याणकारी विज्ञापनको रकम भुक्तानी गर्ने काम गरिरहेको छ । यस्तै हुलाकले पछिल्लो समय रजिष्ट्रर गरिएको चिठी कहाँ पुग्यो भन्ने प्रणालीको विकास पनि गरेको प्रमुख बस्नेतले बताए । ‘जिपिओ सिस्टममार्फत चिठी कहाँ पुग्यो भन्ने थाहा पाउन सकिने प्रणालीको विकास पनि गरेका छौँ ।’ उनले भने-‘ यसलाई पोष्ट इन्टरनेट ट्रयाकिङ सिस्टम पनि भनिन्छ ।’
यस्तै हुलाक कार्यालयले बचत बैंक पनि संचालन गरेको छ । हुलाकले अन्य बैंकको तुलनामा व्याजदर बढी दिने गरी बचत बैंक संचालन गरेको उनले बताए ।‘बचत बैंकमा रकम जम्मा गर्ने सेवाग्राहीले अरु बैंकभन्दा बढी ब्याजदर पाउनुहुन्छ ।’ उनले भने-‘व्याजमा हामीले कर नकाटी दिने गरेका छौँ, अहिले ७ प्रतिशत सम्म व्याज दिने गरेका छौँ ।’ जिल्ला हुलाक कार्यालयमार्फत अहिले करिब ८ सय जनाले बचत बैंकमा सेवा लिएको उनले बताए । दाङमा ७६ स्विकृत दरबन्दीसहित १०२ जना कर्मचारी रहेका छन् ।
यसैबिच जिल्ला हुलाक कार्यालयले विश्व हुलाक दिवसको अवसरमा तीन दिने विभिन्न कार्यक्रमको आयोजना गरेको छ । अक्टोबर ८, ९ र १० अर्थात असोज २२, २३ र २४ गते विभिन्न कार्यक्रमको आयोजना गरेको प्रमुख बस्नेतले जानकारी दिए । दिवसको अवसरमा सेवाग्राहीलाई सम्मान, सरसफाई, दिपावली, कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।