
तुलसीपुर । कोरोना विशेष अस्थायी अस्पताल बेलझुण्डीलाई तुलसीपुरमा स्थानान्तरण गरिएको छ । भौतिक संरचना अभावका कारण लुम्बिनी प्रदेश सरकारले बेलझुण्डीमा सञ्चालन गरेको कोरोना विशेष अस्पताल शुक्रवार प्रादेशिक अस्पताल तुलसीपुरको व्यवस्थापनमा सञ्चालन हुने गरी सोहि अस्पताल हातामा कोरोना युनिटका रुपमा सञ्चालन गरिएको हो ।
बेलझुण्डीमा भर्ना भएर उपचार सेवा लिइरहेका जम्मा ४ जना विरामीलाई सो इकाईमा स्थानान्तर गर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले विधिवतरुपमा सो इकाईको उद्घाटन गरेका हुन् । अस्पताल स्थानान्तरणसंगै थप आधुनिक र व्यवस्थित तवरले विरामीको उपचार प्रवाह हुने नगरप्रमुख पाण्डेले अपेक्षा गरेका छन् । अस्पतालमा अन्य विरामीको उपचारकक्ष भन्दा वेग्लै स्थानमा रहेको वेग्लै भवनमा कोरोना उपचार इकाई सञ्चालनमा आएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयको विएएमएस कलेजमा अस्थायी रुपमा सञ्चालित कोरोना विशेष अस्पताल अन्यत्र सार्न र आफ्नो पठनपाठन सुचारु गर्न आयुर्वेद स्नातक तह विएएमएस अध्ययनरत विद्यार्थीहरुले पटक पटक आन्दोलन समेत गर्दै आएका थिए ।
विद्यार्थीको आन्दोलनसंगै कोरोना भाइरसको संक्रमण समेत न्युन हुंदै गएपछि प्रदेश सरकारले बेलझुण्डीमा सञ्चालन भैरहेको सो अस्पताललाई तुलसीपुर प्रादेशिक अस्पतालमा सार्न लिखित पत्राचार गरेको थियो । प्रदेश सरकारको निर्देशन अनुसार तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा निर्माण सम्पन्न भएको दुईतले योगा भवनमा सो इकाई सञ्चालनमा ल्याइएको हो । अस्पताल स्थानान्तर भएपछि विद्यार्थीहरुले पनि अब आफुहरुको पढाइमा कुनै समस्या नपर्ने आशा व्यक्त गरेका छन् ।

तात्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले कोरोना विशेष अस्थायी अस्पताल वेलझुण्डीलाई प्रदेश सरकारले नमुना सरुवा रोग अस्पताल बनाउने अभिव्यक्ति सार्वजनिक गर्दै आएका थिए ।
पटक पटक यस्तो अभिव्यक्ति सार्वजनिक गर्दै आए पनि यस अघिका दुवै आर्थिकबर्षमा मुख्यमन्त्री पोख्रेलले यसलाई प्रदेश स्तरको नमुना सरुवारोग अस्पताल बनाउन कुनै बजेट विनियोजन गरेनन् । प्रदेशस्तरीय सरुवा रोग अस्पताल बनाउन कपिलबस्तुलाई प्रस्तावगरेसंगै यहाँ सरुवा रोग विशेष अस्पताल निर्माण हुने आशा समेत गुमिसकेको थियो ।

वेलझुण्डीमा रहेको अस्थायी कोरोना अस्पतालमा भन्दा थप व्यवस्थित रुपमा तुलसीपुरको इकाईमा विरामीहरुलाई सेवा दिइने अस्पताल प्रशासनले जनाएको छ । सो इकाईमा कुरुवाहरुले सिसाको झ्यालबाट आफ्ना विरामीको सम्पूर्ण गतिविधिहरु सहजै नियाल्न सक्ने छन् भने विरामीलाई इच्छा अनुसारको खाना पनि अभिभावकहरुले नजिकैको क्यान्टिनबाट व्यवस्थापन गर्न सक्ने छन् । यस अघि वेलझुण्डीमा कोरोना विरामीलाई प्रत्यक्ष रुपमा देख्न वा भेट्नका लागि विरामीका कुरुवाले अनिवार्य रुपमा पिपिइ लगाउनुपर्ने बाध्यता रहेको थियो ।
‘आइसियु, एचडियु, तथा भेण्टिलेटरको सेवा सहित आधुनिक उपकरणहरु प्रयोग गरी विरामीहरुको उपचारको प्रवन्ध मिलाइएको छ, साथै विरामीहरुका कुरुवालाई समय कटाउनका लागि नजिकैको रेडक्रस भवनमा म्याटको समेत व्यवस्थापन भएको छ’—व्यवस्थापक वलीले भने ।

संघीय सरकारले तेस्रो वेभलाई मध्यनजर गर्दै राप्ती प्रादेशिक अस्पताललाई आवश्यक वेड र उपकरणहरु उपलव्ध गराएसंगै सो भवनमा कोरोना उपचार इकाई सञ्चालनमा सहजता आएको हो । विशेषगरी वालवालिकाहरुको उपचारलाई लक्षित गरेर संघीय सरकारले वेड, आइसियु मेसीन, एनआइसियु उपकरण तथा पिआइसियु उपकरणहरु उपलव्ध गराएको थियो ।
हाल सो भवनमा कोरोनासंग सम्बन्धित विरामीहरुको उपचारका लागि कम्तिमा ५० वेड व्यवस्थापन भैसकेका छन् । अहिले सो इकाईमा एनआइसियुका १५ वेड, आइसियुका १० वेड, पिआइसियुका १५ वेड, र एचडियु १० वेड आवस्यक परेको अवस्थामा सञ्चालनको तयारीमा छन् । नियमित रुपमा अक्सिजन तथा भेण्टिलेटर समेतको सुविधा सहित विरामीहरुको उपचार हुने अस्पताल व्यवस्थापनले जनाएको छ । वैज्ञानिक रुपमा फोहर व्यवस्थापन सहित विरामीका कुरुवाहरुका लागि समेत अस्पताल क्यान्टिनमा सवै खानेकुरा उपलव्ध हुने बताइएको छ ।
कोरोना उपचार युनिटमा हाल ४ जना संक्रमितहरु आइसियुमा उपचार गरिरहेका छन् । प्रदेश सरकारले उपलव्ध गराएको दरवन्दीअनुसार १८ जना स्टाफ नर्स, दुइ जना कन्सल्टेन्ट फिजिसियन, ७ जना मेडिकल अफिसर र १५ जना सरसफाई कर्मचारीहरुले सो इकाइमा सेवा प्रदान गरीरहेका छन् ।

विसं २०७६ साल चैत ११ गते कोरोना संक्रमितहरुको उपचारका लागि सेवा प्रारम्भ गरेको सो अस्पतालले हालसम्म १ हजार ४८ जना कोरोना संक्रमितहरुको उपचार गरीसकेको छ । उपचारका क्रममा ९ सय ९ जना निको भएर घरफर्केका छन् भने उपचारकै क्रममा बेलझुण्डीमा रहेको अस्थायी कोरोना अस्पतालमा ९६ जनाले ज्यान गुमाएका थिए । ३९ जनालाई रिफर गरिएको थियो । सो अस्थाइ अस्पतालले बढिमा ७७ जना विरामी सम्मलाइ दैनिक उपचारसेवा दिंदै आएको थियो ।
हाल जिल्लामा सञ्चालित विभिन्न अस्पतालमा रहेका आइसोलेशनमा विरामीहरु खालि हुंदै आएका छन् । तुलसीपुर मेट्रो अस्पतालमा एक जना पनि कोरोना संक्रमित छैनन् भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना मात्र संक्रमितको उपचार भैरहेको छ । अन्य करीव ६० जना होम आइशोलेशनमा आराम गरिरहेको बताइएको छ ।