चाडपर्व आउँदा वेपत्ता छोरो फर्किने आशा

गंगटे । चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहारमा छन् दुर्ग खड्का । चाडपर्व आयो कि छोराको सम्झनाले बढी सताउँछ उनलाई । ‘अरु समयमा भन्दा चाडपर्व नजिकिदै जाँदा छोराको याद बढी आउँछ ।’ उनी भन्छन् ‘बुढेसकालको सहारा छोरा कहाँ छ, कुनै अत्तोपत्तो छैन् ।’ बबई गाउँपालिका–१ गगंटे निवासी खड्काको घरमा अहिले तीन जनाको परिवार छ । एक नातीसहित खड्का दम्पति अहिले दुखसुखमा बाँचिरहेको छ । आजभन्दा करिब १० वर्ष अघि धन कमाउन घरबाट निस्केको छोरा अहिलेसम्म वेपत्ता छन् । छोराको माया र सम्झना नातिलाई हेरेर मन बुझाउँदै छन् खड्का दम्पति ।

उनीहरुलाई अघिपछिका दिनहरुमा भन्दा चाडपर्व नजिकदै गर्दा गाउँमा छिमेकीको छोरा प्रदेशबाट फर्किएको देख्दा भक्कानो छुट्छ । ‘अरु दिनहरुमा जसोतसो मन बुझाएका छौँ तर चाडपर्व नजिकदै गरेको समयमा गाउँमा छिमेकीका छोराहरु घरमा आउने बेला छोरा पनि आउँछ कि भन्ने आश लागिरहन्छ ।’ खड्का दम्पतिले भने ‘बुढेसकालको सहारा छोरा करिब १० वर्षदेखि वेपत्ता छ, के गर्नु अब त फर्किने आश पनि मर्न थालिसक्यो ।’

दश वर्ष अघि धन कमाउन घरबाट निस्केका छोरा दिलबहादुरले परिवारलाई कुन ठाउँमा जाने भन्ने केही बताएनन् । घरबाटै बिहानै निस्केका उनी आजसम्म फर्किन नसकेपछि बुहारी पनि अर्कैसंग बिहे गरेर गएको खड्काले बताए । ‘सानो छोरालाई छोडेर बुहारी पनि अर्कैसंग गइसकेकी छ ।’ उनले भने ‘बुहारीले पनि सानो नातीलाई छोडेर गएपछि बुढाबुढीको सहारा नाती भएको छ ।’ छोरा कुन ठाउँमा गएको छ, अझै केही पत्ता नलाग्दा छोरा आउने आश लागिरहेको उनीहरु बताउँछन् । उमेरले करिब ६० वर्ष पार गरिसकेका खड्का दम्पतिले सानो नातिलाई हेरेर मन बुझाउने गरेका छन् । ‘म ५० वर्षको हुँदा छोरा घरबाट निस्केको हो, अहिले म ६० वर्षको भइसकेँ ।’ उनले भने ‘अब त नाती पनि ठुलो हुँदै गएको छ, केहि मन भुलाउने बाटो भएको छ ।’

छोराको खोजिका लागि विभिन्न निकायमा धाउँदा पनि कतै पत्ता नलागेपछि निराश भएर बस्नुको विकल्प नभएको खड्का दम्पतिले बताए । ‘खै किन फर्किएनौ छोरा, मनले मनलाई प्रश्न गरिरहेको छ’ उनीहरुले भने ‘जहाँ भए पनि बुवा आमाको माया छ भने कृपया घरमा फर्कि आउ, हामी तिम्रै पखाईमा छौँ छोरा ।’

‘छोरा घरमा फर्कने आशामा सास नै रोकिन्छ कि भन्ने लागेको छ ।’ उनले गहँभरी आँशु ल्याउँदै भने ‘धनले छोरालाई पराई बनाईदियो, हाम्रो सहारा नै टाढा भएपछि अब त जिन्दगीसँग हार खाइसकेका छौँ ।’ छोरा धन कमाएर परिवारकै सुखका लागि यसअघि पनि वैदेशिक रोजगारीमा गएको खड्का दम्पतिले बताए । ‘बुवाआमा र श्रीमती, छोरालाई सुखमा राख्नका लागि छोरा पहिले पनि विदेशमा धन कमाउन गएको थियो ।’ उनीहरु भन्छन् ‘कतारमा १/२ वर्ष बसेपछि फेरि धन कमाउनकै लागि छोरा घरबाट निस्किएको हो तर जानेबेलामा केही नभनि निस्केको हो, श्रीमतीलाई पनि भनेको थिएन् रे ।’

छोरा आउने आशामा अहिले दिन गन्दै बसेका खड्का दम्पतिलाई बुढेसकालले छुँदै गएपछि दैनिक जीवनयापन गर्न समस्या परेको छ । उनीहरुलाई घरमा खाने रासन समेत ल्याउन समस्या हुन थालेको छ । घरमा सानो नातिमात्रै भएपछि खानका लागि चाहिने रासन ल्याउन आफै बजारसम्म पुग्ने गरेको उनले बताए । ‘घरमा कोही नभएपछि एक दिनको बाटो हिडेर बजारबाट खाद्यान्नका सामग्री ल्याउने समस्या पर्ने गरेको छ ।’ उनले भने ‘अब ताकत बाकत पनि गइसकेको छ, छोरा नभए पनि जसोतसो जीवन चलाएका छौँ ।’

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस