तुलसीपुर । दलित महिला संघ दाङले कोरोना प्रभावित दलित तथा विपन्न समुदायलाई राहत वितरण गरेको छ । संघले दशैँ पर्व नजिकिदै गरेको समयमा समस्यामा परेका विपन्न समुदायलाई चामल, दाल, तेल, नुन लगायतका खाद्यान्नका सामग्री वितरण गरेको हो ।
संघले बुधबारमात्रै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ र १६ करिब ४० घरपरिवारलाई राहत वितरण गरेको दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले जानकारी दिए । नगरका सबै वडामा राहत वितरण गर्ने लक्ष्य अनुरुप बुधबार (आज) वडा नम्बर १२ का १२ र वडा नम्बर १६ का २८ घर परिवारलाई राहत वितरण गरेको उनले बताए ।
संघले वडा नम्बर १२ मा संघका अध्यक्ष कराराको अध्यक्षता तथा वडा नम्बर १२ का अध्यक्ष सुर्यबहादुर डाँगीको प्रमुख आतिथ्यतामा राहत वितरण कार्यक्रम गरेको हो ।
त्यस अवसरमा अध्यक्ष डाँगीले विपन्न समुदायको सहारा बनिदिने संघ परिवारलाई धन्यवाद ज्ञापन गरे । सरकारको सहयोगीको रुपमा संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले आगामी दिनमा पनि सहकार्य गरेर जान सकिने बताए ।
संघले प्रति घर परिवारलाई २५ केजी चामल, एक लिटर तेल, तीन केजी दाल, दुई केजी नुन र तीन गोटा साबुन वितरण गरेको छ । यस्तै संघले वडा नम्बर १६ मा संघका अध्यक्ष कराराको अध्यक्षता तथा वडा अध्यक्ष भुपबहादुर केसीको प्रमुख आतिथ्यतामा राहत वितरण कार्यक्रम गरेको हो ।
अभिभावकबिहीन बालिका रन्जना विकले राहत पाउँदा खुशी व्यक्त गरिन् । उनले विपन्नताकै कारण दशैँ तिहार जस्ता चाडपर्वमा आफुहरुलाई नरमाइलो हुने गरेकोमा यसवर्ष राहत पाएपछि अलिकति भएपनि खुशि थपिएको बताइन् ।
यस्तै एकल महिला मनिषा विकले पनि चामल, दाल लगायतका सामग्री पाएपछि यसपालीको दशैँमा खुशी थपिएको बताइन् । यस्तै खाद्यान्न लगायतका सामग्री वितरण गरेर विपन्न नागरिकको चुलोमा आगो बालिदिने काम गरेको भन्दै वडा अध्यक्ष केसीले संघलाई धन्यवाद ज्ञापन गरे ।
संघले तुलसीपुरका १९ वटै वडामा ३ सय घर परिवारलाई खाद्यान्नका राहत वितरण गर्ने संघका अध्यक्ष कराराले बताए । दशैँ तिहारजस्ता ठुला चाडपर्वमा समस्याका परेका नागरिकलाई थोरै भए पनि सहजता दिनका खाद्यान्नका सामग्रि वितरण गरिएको संघका जिल्ला संयोजक जानकी विश्वकर्माले बताइन् ।