
काठमाडौँ । ‘रामायण’मा रावणको चरित्रमा अभिनय गरेका बलिउड अभिनेता अरविन्द त्रिवेदीको बुधबार बिहान हृदयघातका कारण निधन भएको छ ।
८२ वर्षीय अभिनेता त्रिवेदीको राती १० बजे निधन भएको हो ।
रामायणका सह–अभिनेता सुनील लहरीले सामाजिक सञ्जाल इन्स्टाग्राममा उनको मृत्यु भएको जानकारी दिएका हुन् । ‘हामी सबैको प्रिय कलाकार अरविन्दको मृत्यु भएको छ । उनको आत्माले शान्ति पाओस्,’ सुनीलले लेखेका छन् ।
केही वर्षयतादेखि उनी बिरामी थिए र हिँड्ने सक्दैन थिए । तीन वर्षमा उनको स्वास्थ्य अवस्था झनै खराब भएको थियो । एक महिनाअघि मात्रै उनी अस्पतालबाट घर फर्केका थिए ।
अरविन्दको निधनपछि ‘रामायण’मा उनीसँग काम गरेका अरुण गोविल, सुनील लहरी, दीपिका चिखलिया र फ्यानहरुले उनीप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् ।
यो वर्षको सुरुवातमै त्रिवेदीको निधन भएको भन्ने अपवाह फैलिएको थियो । तर सुनीलले नै उनको तस्बिर राख्दै उनी जीवित रहेको जानकारी गराएका थिए । हिन्दुस्तान टाइम्सका अनुसार त्रिवेदीको आज नै अन्त्येष्टि गरिँदैछ ।