चाडपर्व नजिकिएसँगै बजारमा अनुगमन तीव्र

तुलसीपुर । नेपालीहरुको महान पर्वहरु नजिकिदै गर्दा तुलसीपुर उपमहानगरपालिकाले बजार अनुगमणलाई तीव्र पारेको छ ।

बजारमा म्याद सकिएका उपभोग्य वस्तुहरु बिक्री वितरण भइरहेको जनगुनासो आएपछि तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले तुलसीपर क्षेत्रमा रहेका बजारको अनुगमन गरेको हो ।

तुलसीपुर, हेमन्तपुर, दुधरास, बिजौरी लगायतका स्थानमा एकहप्ताको अवधिमा गरिएको अनुगमनमा एक लाख बराबरको म्याद सकिएका उपभोग्य वस्तुहरु बरामद गरेर नष्ट गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए । बिजौरी बजारमा गरिएको अनुगमनमा मात्रै २५ हजार बराबरको उपभोग्य वस्तु नष्ट गरिएको छ ।

उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माको नेतृत्वमा गएको अनुगमन टोलीले सरस्वती किराना तथा खाद्यान्न पसलबाट कुकिज, वेसन, न्यू कविता किराना तथा फलफुल पसलबाट पेय पदार्थ, मुङगको दाल, सरस्वती डेरी तथा सप्लायर्सबाट बेसार, फ्रुटकेक, आँपको अचार, चिज बल्स, बिस्कुट, पाउरोटी, लगायतका सामानहरु बरामद गरेको छ ।

सो क्रममा अधिकांस पसलमा मूल्य सूचि नराखेको, म्याद नाघेको उपभोग्य सामानमा पुनः लेबलिङ गरेर बिक्री गर्ने गरेको पाइएको उपमहानगरपालिकाले जनाएको छ ।

अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख विवेक बन्जारा, इलाका प्रशासन कार्यालय तुलसीपुरका तिलक केसी, प्रहरी हवलदार नरिवान खड्का लगायतको सहभागिता रहेको थियो । बिजौरीमा करिब एक दर्जन पसलमा अुनगमन गरिएको थियो ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस