जनगणनाको घर तथा घरपरिवार सूचीकरणको काम आज सकिँदै

दाङ । राष्ट्रिय जनगणना अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरणको काम आज सकिँदै छ ।

जनगणना अन्तर्गत पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम गएको भदौ ३० गतेदेखि सुरु भएको थियो । पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम भने ९० प्रतिशत मात्रै सकिने भएको छ । बाँकी रहेको काम दुईरचार दिनमा सकिने केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

उनकाअनुसार सबैजसो जिल्लामा सूचीकरणको काम आंशिकरुपमा बाँकी छ । अहिलेसम्म घरपरिवारको सूचीकरण ५० लाखको सङ्ख्यामा मात्र आएको छ । गाउँ–गाउँमा खटिएका गणकले सङ्कलित सूचना पठाउन बाँकी नै रहेकाले सबै विवरण केन्द्रमा आइसकेको छैन ।

ग्रामीण क्षेत्रमा यातायातको असुविधासँगै इन्टरनेट तथा सञ्चार सेवाको समस्या हुँदा र कतिपय गणकहरु बिरामी भएकाले पनि सङ्कलित विवरण आउन ढिलाइ भएको हो । अहिले देशभर ७० लाख घरपरिवार भएको अनुमान गरिएको छ ।

मूल गणनाका लागि कुटनीतिक पहल समेत भइरहेको छ । निर्धारित कार्यतालिकाअनुसार मूल जनगणना आउँदो कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुनेछ ।

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस