दाङ । दाङको राजपुर गाउँपालिकाको वडा नम्बर ५ र ६ का ३ सय घरधुरीमा निजी धारा जडान भएपछि बर्षौदेखिको खानेपानीको समस्या अहिले समाधान भएको छ । पानीको दुःख हट्दा स्थानीयहरू खुसी भएका छन् ।
राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले खानेपानी समस्या भएको बस्तीलाई घर-घरमा धारा पुगेको बताए । उनले गाउँपालिकाको योजनामा रेडक्रसले लगानी बढाउँदा ठूलो योजना निर्माण भएको र त्यसले स्थानीयलाई खानेपानी पुर्याएको जानकारी दिए ।
उपाध्यक्ष धनपति यादवले महिलाहरूले बढी भोग्दै आएको पानीको समस्या खानेपानी योजनाले हटाएको बताए । सबैभन्दा बढी पानीको समस्या भएको क्षेत्रका ३ सय घरमा निजी धारा जडान हुनु ठूलो उपलब्धि भएको उनको भनाई छ ।
नेपाल रेडक्रस सोसाईटी दाङका सभापति नारायण आचार्यले रेडक्रसले दातृ निकायहरूको सहयोगमा दाङमा खानेपानी योजनाहरू निर्माण गरिएको भन्दै पछिल्लो पटक राजपुरमा ठूलो योजना निर्माण भएको जानकारी दिए।