सिक्ने सिकाउने क्रममै स्थानीय सरकारका ४ वर्ष : उपप्रमुख बेलबासे



लमही। लमही नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक देबका बेलबासेले सिक्ने सिकाउने क्रममै स्थानीय सरकारको चार वर्ष बितेको बताएकी छिन् ।

ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा आइतबार लमहीमा आयोजित स्थानीय सरकारको नीतिमा नागरिक समाजसँग संवाद कार्यक्रमको प्रमुख अतिथि रहेकी बेलबासेले सो कुरा बताएकी हुन् । उनले स्थानीय सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रमहरुका बारेमा लक्षित समुदाय जानकार नहुँदा कतिपय योजनाहरु उदेश्य अनुरुप सञ्चालन हुन नसकेको बताइन् ।

स्थानीय सरकारले तर्जुमा गरेका हरेक नीति तथा कार्यक्रमको बारेमा आमनागरिक जानकार हुनु पर्ने हो तर कतिपय अवस्थामा कानुनी अन्योलता र अनभिज्ञताका कारण सिक्ने कार्यसम्पादनमा समस्या हुने गरेको बेलबासेको भनाई छ ।

उनले बस्ती स्तरको योजना छनोटदेखि तर्जुमा गरिएका योजनाहरुको बारेमा सम्बन्धित नागरिकले थाहा नपाउँदा कतिपय योजनाहरु सफल हुन नसकेको स्पष्ट पारिन् । संस्थाका अध्यक्ष आशमानी चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका उप प्रमुख देबका बेलबासेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले बस्तिस्तरमा योजना तर्जुमा गर्दा आम नागरिकको सहभागिता नभई सिमिति प्रतिनिधिहरुको सहभागितामा हुने भएकोले स्थानीय सरकारले बनाएको नीतिहरु नगरिकको पहुँचमा पुगन नसकेको बताएका थिए ।

ग्रामीण महिला उत्थान केन्द्रका हित बहादुर थापाको विषय प्रवेश तथा स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा कानुनी जानकार शुभराज चोधरीले स्थानीय सरकार सञ्चालन ऐन, एनले गरेका ब्यवस्था र नागरिक समाजको भूमिकाको विषयमा प्रशिक्षण दिएका थिए ।

सो अवसरमा लमही नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष नुमराज पौडेल, गैरसरकारी संस्था जिल्ला महासंघका उपाध्यक्ष उमाकान्त पन्त, रेडियो हाईवेका सम्पादक लिला शाहलगायतले स्थानीय सरकारले अख्तियार गरेको नीति तथा कार्यक्रमहरुको बारेमा आम नागरिकहरु जानकार हुन आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन सर्बराम चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस