कर्णाली प्रदेशमा २२ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप पाए

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस विरुद्धको पूर्ण खोप २२ प्रतिशत नागरिकले पाएका छन् । ३३ प्रतिशत नागरिकलाई खोपको पहिलो मात्र दिइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

प्रदेशको कुल जनसंख्या १८ लाख २४ हजारमध्ये २ लाख ४२ हजार नागरिकले पूर्ण खोप लगाएको निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिए । प्रदेशमा १८ वर्ष माथिका १० लाख ९४ हजार जनालाई कोभिड विरुद्धको खोप लगाउने निर्देशनालयको लक्ष्य छ । कुल जनसंख्याको ४० प्रतिशत जनसंख्या १८ बर्षमुनिका छन् ।

प्रदेशका चार वटा हिमाली जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र डोल्पामा दशैं–तिहारको बीचसम्म पूर्ण रुपमा खोप लगाउने लक्षका साथ खोप कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रदेशका स्थानीय तहहरुमा पनि हाल खोप कार्यक्रहरु सञ्चालन भइरहेका छन् । सरकारको लक्ष्यअनुसार दशैं–तिहारको बीचसम्म प्रदेशका ५० प्रतिशत नागरिकले पूर्ण रुपमा खोप पाउने अपेक्षा गरिएको निर्देशक खड्काले बताए ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस