काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशनमा ल्याएको हो।
कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आज बैंकिङ समयदेखि आवेदन दिन पाउनेछन्।
निष्काशन गरेका सेयरमा सर्वसाधारणले यही असोज १९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए असोज ३१ सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ।