नयाँ ट्रायल पास गरेकालाई प्रि लाइसेन्स दिने तयारी

एक वर्षभित्र पाँच पटकसम्म जरिवाना परेमा खारेज हुने

दाङ । ट्राफिक जाँचलाई सहज बनाउन अब परिक्षणकालिन सवारी चालक अनुमतिपत्र अर्थात प्रि लाइसेन्स वितरण गरिने भएको छ । नयाँ ट्रायल पास गरेका र क्याटागोरी थप गरेकाले एक वर्षसम्म मान्य हुने गरि प्रि लाइसेन्स पाउने भएका हुन् ।

ट्रायल पास गरेको एक वर्षपछि स्मार्ट लाइसेन्स दिन सकिने भएकाले पनि स्मार्ट लाइेन्स नपाउन्जेल प्रि लाइसेन्स वितरण गर्न लागेको यातायात व्यवस्था कार्यालय राप्तीका प्रमुख रविन्द्र केसीले जानकारी दिए ।

कार्यालयले नयाँ ट्रायल पास गरेका र क्याटागोरी थप गरेका करिब १ हजार २ सय जनालाई यसै साताभित्र परिक्षणकालीन सवारी चालक अनुमती पत्र वितरण गर्ने उनले बताए ।

स्मार्ट लाइसेन्स आउन ढिला हुने र ट्रायल पास गरेकाले रसिद मात्रै पाउँदा ट्राफिकलाई जाँचमा समस्या हुने भएकाले प्रि लाइसेन्स वितरण गरेर ट्राफिक जाँचलाई सहज बनाउने उनको भनाई छ ।

अब नयाँ ट्रायल पास गरेको २/३ दिन भित्रै प्रि लाइसेन्स प्राप्त गर्न सकिने प्रमुख केसीले जानकारी दिए । प्रि लाइसेन्स अर्थात परिक्षणकालीन सवारी चालक अनुमति पत्र एक वर्षसम्ममात्रै मान्य हुने भएको छ । एक वर्षपछि स्मार्ट लाइसेन्स वितरण गर्ने गरी शुरुमा प्रि लाइसेन्स वितरण गरिन लागिएको प्रमुख केसीले जानकारी दिए ।

प्रि लाइसेन्स प्राप्त गरिसकेपछि पाँच पटकसम्म जरिभाना परेमा लाइसेन्स खारेज हुने उनको भनाई छ । ‘प्रि लाइेसन्समा बाककोड हुन्छ, त्यो बाककोड ट्राफिकले मोवाइलमा एप्समार्फत स्क्यान गरेर राख्छ’ उनले भने ‘यदि एक वर्षभित्रै पाँच पटकसम्म जरिवाना परेमा लाइेसन्सका लागि फेरि अर्को पटक ट्रायल दिनुपर्ने छ ।’ प्रि लाइेन्सलका लागि छुटै शुल्क नलाग्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस