‘सर्जन प्रयोगको पात्र हो, योजनाकार अर्काे छ’ : डा. सिंह

दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले आफुमाथि भएको कालोमोसो घटनाको मुख्य योजनाकारलाई राजनीतिक संरक्षण दिईएको आरोप लगाएका छन् ।

सर्जन परियारहरु कसैको प्रयोगमा आएर आफूमाथि मोसो दलेको उनको भनाई छ । उनले फेसबुकमा स्टाटस लेखेका छन् ‘जाबो मेसो पद पाउन निर्दाेषलाई मोसो दलाउनु कत्तिको जायज हो’ ।

साथै डा. मेसुले भने ‘सर्जन परियार घटनामा प्रयोग भएको एक पात्र मात्र हो, सायद राजनीतिक दबाबको कारण यो कुरा बाहिर नआएको हुन सक्छ, अभियुक्तलाई प्रहरी हिरासतमा भान्जा राखेजस्तो गरेपछि कहाँबाट कसले यो कार्य गराएको भन्ने थाहा हुन्छ ।’

कालोमोसो दल्ने प्रकरणमा पक्राउ परेका सर्जन परियारसहित तीन जनालाई प्रहरीले धरौटीमा छोडेपछि डा. सिंहले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पक्राउ परेका दिलिप डाँगी पुर्वपक्षका लागि थुना पठाईएको छ, भने परियारसहित गणेश खड्का र दिवस क्षेत्रीलाई जनही ५० हजार रुपैँया धरौटी बुझाएर आईतबार नै रिहा गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

गएको भदौ ११ गते परियारसहित गएका उनीहरुले डा. सिंहमाथि कालोमोसो दलेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस