कर्णाली । स्थानीय जनगणना कार्यालयले राउटे समुदायको जनगणना अन्तिम समयमा गर्ने तयारी थालेको छ। जङ्गलमा फिरन्ते जीवन बिताउने यस समुदायको गणना छुट्न वा दोहोरिन नदिन जनगणना अभियानको अन्तिममा गर्ने तयारी भएको हो।
राउटे जातिहरु हाल सल्यानको पश्चिमी क्षेत्र वनगाड कुपिन्डे नगरपालिका वडा–१ को घाटगाउँमा बस्दछन् । सुर्खेत प्रदेश जनगणना कार्यालयले राउटेहरु छिटो–छिटो बसाइँ सर्ने हुँदा छुट्ने वा दोहोरिन सक्ने भएकाले जनगणनाको अन्तिम समयमा गर्ने गरी स्थानीय जनगणना कार्यालयहरुसँग समन्वय भइरहेको जनाएको छ ।
अति लापोन्मुख यो समुदायमा हाल १४० जना छन् । जनगणनाका लागि सुर्खेतस्थित प्रदेश जनगणना कार्यालयले दैलेखको गुराँस गाउँपालिका र सल्यान जिल्ला जनगणना कार्यालयसँग समन्वय गरिरहेको छ ।
बाह्रौँ राष्ट्रिय जनगणनाअन्तर्गत यही भदौ ३० गतेदेखि घरधुरी तथा घरपरिवार सूचीकरण कार्य जारी छ । यो कार्य असोज १८ गतेसम्म हुनेछ । घरधुरी, घरपरिवार तथा कृषिसम्बन्धी विवरण सूचीकरण गर्ने चार दिनमात्र बाँकी रहँदा सुपरीवेक्षकहरु राउटे बस्ती पुगेका छैनन् ।
राउटेहरु आफूले विश्वास गरेको एवं परिचित व्यक्तिसँग मात्र आपसमा कुराकानी गर्ने गर्दछन् । यो समुदाय अझै आफ्नो वास्तविक विवरण बताउन तयार छैनन् ।
राउटेहरु ‘आफ्नो सङ्ख्या गन्नु हुँदैन, टाउको गन्नुहुन्न, पाप लाग्छ’ भन्ने मान्यतामा विश्वास गर्छन् । यही मान्यताका कारण यसअघिका जनगणनामा राउटेको यकिन विवरण आउन नसकेको हो ।
‘मेरो गणना–मेरो सहभागिता’ भन्ने नाराका साथ यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मुख्य जनगणना कार्य सम्पन्न हुनेछ ।