गर्भपतन सेवा विकृतिको रुपमा फैलिदै


दाङ । गर्भपतन सेवा अधिकार विकृतिको रुपमा फैलन थालेको छ । महिलाले इच्छाअनुसार गर्भपतन गर्न सक्ने अधिकार भएपछि दाङमा सानै उमेरमा पनि गर्भपतन गराउने गरेको देखिएको छ ।

जिल्लामा एक वर्षको अवधिमा २० वर्ष मुनिका २९३ जना किशोरीले गर्भपतन सेवा लिएको देखिएको छ । कानुनले २० वर्षमाथिकालाई मात्रै विवाहको मान्यता दिएपनि २० वर्ष मुनिकाले समेत गर्भपतन सेवा लिनुले सुरक्षित गर्भपतन अधिकार भन्दा विकृतिको रुपमा फैलिएको छ ।

नेपाल परिवार नियोजन संघ दाङका अनुसार १३२ जनाले औषधिको प्रयोगबाट गर्भपतन गरेका छन् । बाँकी १६१ जनाले मेसिनको प्रयोगबाट गर्भपतन सेवा लिएको संघका दाङ शाखा प्रवन्धक वसन्त खनालले जानकारी दिए । जिल्लामा मान्यताप्राप्त संस्थाबाट गर्भपतन गराउनेको संख्या कम देखिएपनि अवैधानिकरुपमा गर्भपतन गराउनेको संख्या उल्लेख्य रहेको छ ।

जिल्लामा बितेको एक वर्षको अवधिमा २० वर्ष माथिका २ हजार ५३ जनाले गर्भपतन सेवा लिएका छन् । शिक्षित परिवार नै मान्यताप्राप्त स्वास्थ्य संस्थामा गर्भपतन गराउने गरेको देखिएको हो ।

नेपालमा ९ हप्ताभन्दा कमको गर्भ महिलाको इच्छाअनुसार औषधिको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था छ भने १२ हप्ता सम्मको गर्भ मेशिनको प्रयोगबाट गर्भपतन गराउन सक्ने प्रवन्धक खनाले बताए । जथाभावि गर्भपतन गराउनले महिलामा बाँझोपन आउन सक्ने चिकित्सकको भनाई छ ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस