अपनत्वको अलमलमै बिते चार वर्ष



दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलबार आफ्नै प्रांगणमा तेस्रो वार्षिकोत्सव मनाइरहंदा कुनै हर्सोल्लास देखिएन । प्रतिष्ठानका पदाधिकारी, प्रहरी प्रमुख, नेपाली सेनाका गुल्मपती, प्रतिष्ठान सल्लाहकार समितिका संयोजक सहित थोरै सदस्य, दुई/तीन जना पत्रकार तथा केही कर्मचारी र चिकित्सहरुबीचकै उपस्थितिमा तेस्रो वार्षिकोत्सव सम्पन्न भयो ।


वार्षिकोत्सवमा जिल्लाका संघीय तथा प्रदेश सांसदहरु देखिएनन् । प्रमुख राजनीतिक दलका नेताहरुको पनि उपस्थिति थिएन । स्थानीय पालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नागरिक समाज तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको समेत उपस्थिति देखिएन । वार्षिकोत्सवमा झिनो उपस्थितिबीच उत्कृष्ट चिकित्सकहरु तथा कर्मचारीहरु र वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद प्रतियोगिताका उत्कृष्टहरुलाई सम्मान तथा पुरस्कार दिइयो ।


अघिल्लो वार्षिकोत्सवमै चालु शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याइने भनिएका विएससी नर्सिङ शैक्षिक कार्यक्रम समेत सञ्चालन नभएको अवस्थामा यो वार्षिकोत्सवमा त शैक्षिक कार्यक्रमका सन्दर्भमा पदाधिकारीहरुले एक शब्द पनि उच्चारण गरेनन् । नत प्रतिष्ठानका लागि आवश्यक जग्गा प्राप्तिका विषयमा भएका प्रगतिका विषयमै आत्मसमीक्षा हुन सक्यो ।


वार्षिकोत्सवका अवसरमा बोलियो सञ्चालनमा आएको सिटिस्क्यान, आइसियु, आधुनिक ल्याव, उपयुक्त अप्रेशन थिएटर र आउँदै गरेको एमआरआइ सेवाका विषयमा मात्रै । अस्पतालको भौतिक पुर्वाधारहरु कहाँ के थपिए वा थपिने क्रममा छन् भन्ने विषयमा कुनै शब्द उच्चारण गरिएन ।


वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. संगिता भण्डारीले सुरुमा सोचेजस्तो बजेट नआएको कारण अपेक्षित उपलव्धि हासिल हुन नसकेको तथा अर्को वर्षदेखि कोभिड—१९ को संक्रमणले च्यापेका कारण अपेक्षित प्रगति हाँसिल हुन नसकेको अभिव्यक्ति दिइन् ।

प्रतिष्ठान डिसास्टर हव हस्पिटल भएकाले रिफरको संख्या अधिक कम रहेको तथा विस्तारित स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत २५ वेड थप भएको पनि उपकुलपति भण्डारीले बताइन् । उनले ट्रमा सेन्टर र आफ्नै व्लड बैंक सञ्चालनका लागि टेण्डर प्रक्रिया सुरु भैसकेको उल्लेख गर्दै चाँडै ६ सय वेडको हस्पिटल बनेपछि शैक्षिक कार्यक्रमहरु सञ्चालन हुने अभिव्यक्ति दिइन् ।


वार्षिकोत्सवकै अवसरमा सम्बोधन गर्दै प्रतिष्ठानका रेक्टर डा. बसन्त लामिछानेले प्रतिष्ठानमा स्वास्थ्य उपकरणदेखि अक्सिजन उपलव्ध गराउन समेत सक्रिय भूमिका निर्वाह गर्ने एक दर्जन भन्दा बढी दाताहरुको नाम उच्चारण गर्दै धन्यवाद दिए मात्रै । प्रतिष्ठानका आगामि कार्यक्रमका विषयमा रेक्टर लामिछानेले पनि केही अभिव्यक्ति दिएनन् ।


प्रतिष्ठानका प्रमुख सल्लाहकार नारायण भुषालले आफुहरु लक्ष्यको नजिक पुगेको अभिव्यक्ति दिंदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ठुलो उपलव्धि भनेको कोरोना भाइरसका संक्रमितहरुको पिसिआर परीक्षणको व्यवस्थापन तथा चाँडै सञ्चालनमा आउने भनिएको एमआरआइ सेवा रहेको उल्लेख गरे ।

प्रतिष्ठानमा एक बर्ष त को आयो भन्नेमै अलमल भएकाले यो अवधिमा जनताको अपेक्षाअनुसारका काम हुन नसकेको पनि उनले बताए । पत्रकार दधिराम सुवेदीले प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले मुस्कान सहितको सेवा दिन सकेको वा नसकेको भन्ने समीक्षाको विषय रहेको उल्लेख गरे । भात पकाउने भान्सामा सब थोक त छ, तर चामल छैन जस्तै भएको छ प्रतिष्ठान भन्दै उनले प्रतिष्ठानलाई पुर्णरुपमा चलायमान बनाउन अझै पनि क्रियाशील हुन आग्रह गरे । मन्तव्यको सुचिमा अरु कोही व्यक्ति परेनन् । कोरोना भाइरसको संक्रमणले होला कार्यक्रममा उत्साहजनक एवं प्रतिनिधिमुलक सहभागिता पनि देखिएन ।


प्रतिष्ठानले आफ्नो तेस्रो वार्षिकोत्सव मनाए पनि सोझो हिसावले प्रतिष्ठानले अहिले चार बर्ष पुरा गर्दै छ । जब प्रतिष्ठानका पदाधिकारी चार वर्षे कार्यकाल पुरा गर्दैछन् भने तेस्रो वार्षिकोत्सव कसरी भन्ने पनि सहभागीहरुको जिज्ञासा थियो । वार्षिकोत्सवको सहजीकरण प्रतिष्ठानका निर्देशक डा. प्रज्ञा सिंह बस्नेतले गरेकी थिइन् ।


मेडिकल शिक्षाका अभियन्ता डा. गोविन्द केसीको सत्याग्रहसहितको आन्दोलन र यहाँका राजनेताहरुको अथक प्रयासले यहाँ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएर सञ्चालनमा आउँदा जिल्लाबासीमा जुन उत्साहमा दिपावली भएको थियो, समग्रमा उपलव्धि भने अर्थपुर्णरुपमा हासिल हुन सनेको छैन । प्रतिष्ठानको पहिलो वर्ष त को पदाधिकारी आए ? कसका पक्षका आए ? कसरी धपाउने भनेर कर्मचारीदेखि नागरिक आन्दोलन समेत गरेर प्रतिष्ठानलाई पछि धकेलियो । दोस्रो वर्ष सरकारको नेतृत्व फेरिएसँगै बजेट कटौति तथा आर्थिक अनियमितता छानबिनका खेलहरु समेत भए । मन्त्रालयले छानबिनका लागि सहसचिव मधुसुधन बुर्लाकोटिको संयोजकत्वमा स्थलगत अध्ययनका लागि टोलिनै पठाउन बाध्य भयो । तेस्रो वर्षदेखि बाहना बन्यो विश्वव्याधिका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ।


खोइ प्रतिष्ठानका लागि आवश्यक उपयुक्त स्थानमा जग्गा प्राप्ति ? यो विषयमा अर्थपूर्ण भूमिका निर्वाह गर्न जिल्लाका राजनेताहरुले सकेनन् । स्थानीय सरकारले प्रतिष्ठानलाई अपनत्व लिन सकेन । प्रदेश सरकारले पनि प्रतिष्ठानलाई फरक नजरले सम्बोधन गर्दै काम चलाउ बजेट पनि मुस्किलले उपलव्ध गरायो ।

यहाँका वरिष्ठ नेताहरु वलदेव मज्गैयाको भूमिका, अनिता देवकोटा र दिपक गिरीको भूमिका, सभामुख समेत बनेका कृष्ण बहादुर महराको भूमिका, मुख्यमन्त्री बनेका शंकर पोख्रेलको भूमिका हुँदो हो त तेस्रो वर्ष मनाइरहँदा प्रतिष्ठानले जग्गा प्राप्ति गर्न सक्नुपर्ने होइन र ? समग्रमा कसैले पनि प्रतिष्ठानको अपनत्व स्वीकार गर्न सकेको स्पष्ट देखिएन । पदाधिकारीले गर्न सकेनन् भन्नेमा मात्रै रुमल्लिए यहाँका राजनेताहरु । यहीँ अवस्था रह्यो भने प्रतिष्ठान एउटा अस्पतालमा मात्रै वर्षौसम्म सीमित रहने नागरिक अगुवाहरुले बताउँदै आएका छन् । पदाधिकारी त जागिरे पाहुना हुन्, आउँछन् जान्छन्, यहाँका नेताहरुले केही गर्नुपर्ने होइन र ? आम जिल्लाबासीहरुले पनि प्रश्न गरीरहेका छन् ।

प्रकाशित मिति : २०७८ असोज १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस