बर्दियामा बाघले ७ खसीसहित २१ बाख्रा मार्‍यो

काठमाडौं । आइतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेको बीचमा खोरमा पसेर पसेर बाघले २१ बाख्रा मारेको छ ।

बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायी चन्द्रकान्त पौडेलको व्यवसायिक फर्ममा बाध पसेर २१ बाख्रा मारेको हो । २१ मध्ये ७ वटा खसी दशैंमा बेच्न ठिक्क पारिएको पौडेलको भनाइ छ ।

वस्ती भन्दा थोरै पर रहेको यो खोरमा भएको घटनामा एउटा सानो पाठो जीवित भेटिएको छ भने एउटा बाख्रा हराइरहेको फर्म सञ्चालक पौडेलले बताए । ‘बेलुका खोरमा थुनेर गएका २३ मध्ये २१ वटा बाख्रा मृत फेला परेको छ, एउटा बाघले लगेको रहेछ’ पौडेलले भने । एउटा सानो बच्चो भने खोरबाट तल खसेका कारण जीवितै फेला परेको उनले बताए ।

खोरमा भएकामध्ये एउटा बाख्राको पछाडि भाग खाएको र बाँकी सबैको घाँटीबाट रगत चुसेको पाइएको थियो ।

वनका कर्मचारीहरुको रोहबरमा मृत बाख्रालाई गाड्न लागिएको उनले बताए ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस