काठमाडौँ । नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ ।
यो मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ । मौसमविद् मञ्जु बासीका अनुसार अबको एक सातामा यस वर्षको मनसुन बाहिरिन सक्ने देखिएको छ ।
यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो ।
आगामी तीन दिनको मौसमको अवस्था
मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान एक बुलेटिन जारी गर्दै आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार पनि देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागले आगामी २४ घण्टामा देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।