ईपीएल खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले हरायो

काठमाडौं । काठमाडौं किंग्स ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विजयी सुरुवात गरेको छ । आज उद्घाटन खेलमा काठमाण्डौले ललितपुरलाई ७ विकेटले हराएको हो ।

ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । काठमाडौंको जितमा जिम्बाब्बेका बर्लले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए । यस्तै अफगानिस्तानका गुर्बाजले ५९ रन बनाए । राजु रिजाल १९ रनमा अविजित रहे ।

ओपनर सुवास खकुरेल पहिलो ओभरमा खाता नखोली रनआउट भए भने अमित श्रेष्ठ दोस्रो ओभरमा ४ रन बनाएर रनआउट हुँदा काठमाडौंले १२ रनमै २ विकेट गुमाएको थियो ।

तर अर्का ओपनर रहमानुल्लाह गुर्बाज र रायन बर्लले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । गुर्बाजले ३६ बल खेल्दै ५९ रन बनाए ।

११ औं ओभरमा गुर्बाज आउट हुँदा काठमाडौंको स्कोर ८८ पुगेको थियो । त्यसपछि बर्लले आक्रामक ब्याटिङ गर्दै २७ बलमै अर्धशतक बनाए । बर्लले राजु रिजालसंग चौथो विकेटका लागि अविजित ७२ रनको साझेदारी गर्दै काठमाडौंलाई जितसम्म पुर्‍याए ।

बर्लले ३४ बल खेल्दै अविजित ७३ रन बनाए । बर्लले १५ औं ओभरको दोस्रो बलमा ललितपुरका कप्तान कुशल भुर्तेललाई चौका प्रहार गर्दै काठमाडौंलाई जित दिलाए । राजुले १३ बल खेल्दै अविजित १९ रन बनाए ।

ललितपुरका पवन सर्राफले १ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पवन सर्राफको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको हो । ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाए ।

खेलको पहिलो बलमै ललितपुरका कप्तान कुशल भुर्तेल आउट भएका थिए । त्यसै ओभरमा सन्दुन विराकोडी २ रन बनाएर आउट भए । दोस्रो ओभरमा गुल्सन झाले ओसादा फर्नान्डोलाई आउट गरेपछि ललितपुरले ७ रनमै ३ विकेट गुमायो ।

त्यसपछि शंकर राना र पवन सर्राफले तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे । शंकर राना १४ रन बनाएर १० औं ओभरमा आउट भए । त्यसपछि पवन र योगेन्द्र सिंह कार्कीले पाँचौं विकेटका लागि ६२ रनको साझेदारी गरे ।

पवनले ४४ बल खेल्दै ६१ रन बनाए । योगेन्द्रले २० बल खेल्दै ३३ रन जोडे । पहिलो पटक विदेशी लिग खेल्ने भुटानी खेलाडी रन्जुग मिक्यो दोर्जीले अविजित १७ रन जोडे ।

काठमाडौंका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । रायन बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुल्सन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ रन खर्चिए पनि विकेट लिन सकेनन् । यस्तै पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए भने विकेट लिन सकेनन् ।

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट आजदेखि सुरु भएको हो । ६ टिमले खेल्ने प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख पाउनेछ ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस