काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्न खोज्ने एक यक्ति पक्राउ परेका छन् ।
दरबार संग्रहालयमा अवलकोनमा आज विहान टिकट काटेर गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका थिए ।
तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।
‘श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, घर्तीले हातले प्रहार गर्दा बुलेट प्रुफ बाहिर रहेको सिसाको आवरण भने फुटेको छ । त्यसपछि उनले कोठाभित्र सोकेसमा राखिएको खुकुरी झिकेर श्रीपेच निकाल्न प्रयास गरेको देखिन्छ’ उनले भने ।
टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।
‘राजा बन्छु’ भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको जानकारी आफूले पाएको एसपी सिंहको भनाइ छ ।
घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।