
काठमाडौं । भारतको मुम्बईको प्रहरीले १५ वर्षीया बालिकाको सामूहिक बलात्कारको मुद्दामा संलग्न रहेको आरोपमा २८ जनालाई पक्राउ गरेको छ ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सुरुमा बालिकालाई उनकै केटा साथी (ब्वाइफ्रेन्ड)ले गत जनवरीमा बलात्कार गरेका थिए र त्यसको भिडियो पनि बनाएका थिए ।
त्यसपछि उनले र उनका साथीहरुले उक्त भिडियो देखाएर ब्याकमेल गर्दै सामूहिक बलात्कार गर्दै आएका थिए । प्रहरीका अनुसार बालिकामाथि मुम्बईको डोम्बीवली, बदलपुर, मुरबाद र रबालेमा सामूहिक बलात्कार भएको थियो ।
बुधबार राति बालिकाले प्रहरीमा उक्त घटनाबारे उजुरी दिएकी थिइन् । एनडीटीभीका अनुसार बालिकाले यो घटनामा संलग्न रहेको भन्दै ३३ जनाको नाम लिएकी छिन् । उनीहरुमध्ये सबैजसोलाई बालिकाले चिन्थिन् ।
२०१२ को निर्भया सामूहिक बलात्कारको घटनापछि भारतमा बलात्कारको मुद्दामा कडा कानुनी व्यवस्था गरिएको छ । यद्यपि भारतमा यस्ता घटना भने कम भएका छैनन् ।
एजेन्सी