खानेपानीका मुहानलाई असर पर्ने गरि चुनढुंगा उत्खनन् हुने भएपछि तुलसीपुर खानेपानीको विरोध


दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मुहान क्षेत्रको क्षेत्रमा उत्खनन्कालागि अनुमति पाएको भन्ने सूचना पाएपछि संस्थाले त्यसको विरोध जनाएको छ ।

संस्थाका सचिब मनोज लामिछानेका अनुसार राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ र ४ का बिभिन्न स्थानमा रहेको खानेपानीका मुहानलाई असर गर्ने गरि चुनढुंगा उत्खनन्को अनुमति दिन थालिएको भन्दै यसको आपत्ति जनाएको हो ।

‘हामीले खानेपानीको मुहान भएका क्षेत्रबाट चुनढुंगा उत्खनन् गर्न थालेको भन्ने सूचना पाएका छौं’, उनले भने ‘त्यसैले हामीले जसरी हुन्छ, पानी संरक्षण गर्नुपर्छ, मुहानलाई असर गर्ने गरि उत्खनन् हुने कार्यलाई रोक्नु पर्छ ।’

संस्थाको मुहान रहेको स्थान मुलकोट, राम्री, धैरेनी, पहरे, छरछरेलगायतका स्थानमा रहेको चुनढुुंगा उत्खनन्कालागि सुनगाभा माईनिङ प्रालिलाई अनुमति दिन थालिएको भन्दै यसको व्यापक विरोध गर्न आबश्यक रहेको बताए ।

उत्खननका लागि अनुमति दिने कार्य रोक्नका लागि संस्थाले खानी तथा भुगर्भ विभाग काठमाडौंलाई पत्र पनि पठाएको छ । यदि त्यस स्थानबाट चुनढुंगा उत्खनन् कार्य भएमा कठोर आन्दोलन गर्न पनि तयार हुने उनले बताए ।

‘यदि त्यहाँ उत्खनन् भयो भने हाम्रो सबै मुहान सुक्छन्’,उनले भने‘त्यसपछि हामीले तुलसीपुरलाई कसरी पानी पुर्याउन सक्छौं ।’


तिनै मुहानले तुलसीपुरमा खानेपानी चलेको छ । तर, त्यहाँका मुहानलाई नै असर परेमा तुलसीपुरमा पानीको हाहाकार हुने उनले बताए । २०२८ सालदेखि खानेपानी संस्थाले त्यहाँका मुहानबाट पानी ल्याउन थालेको हो । त्यहाँका मुहानबाट ८ हजार २ धारा वितरण भएका छन् । जसबाट १० हजार घरधुरीका ६० हजार उपभोक्ता लाभाम्बित भएका छन् ।


यसको संरक्षणका लागि विभागसंगै तुलसीपुर उपमहानगरपालिकाको कार्यालय, तुलसीपुर ३ र ४ नम्बर वडा कार्यालयलाई पनि बोधार्थ पठाईएको छ ।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस