काठमाडौं । मलेसियाले नेपालमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । नेपालीहरुको रोजगारीको प्रमुख श्रम गन्तब्य मलेसियाले कोरोना भाइरसको महामारी बढेपछि नेपालीलाई प्रतिबन्ध लगाएको थियो ।
अब नयाँ भिसा लागेका श्रमिक तथा विभिन्न समय घर बिदामा नेपाल गएकाहरुले सजिलै मलेसिया प्रवेश पाउने छन् । मलेसियाले प्रतिबन्ध हटाएसँगै नेपालबाट श्रमिक लैजाने निर्णय भएको नेपालस्थित मलेसियाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार मलेसिया जान चाहनेहरुका लागि मलेसियाको वैधानिक भिसा, कोरोनाविद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र तथा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएको कागजात हुनुपर्नेछ ।
मलेसिया सरकारले तोके अनुसार क्वारेण्टीन समेत बस्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
मलेसियाले कोरोना महामारीका कारण नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकासहित पाँच देशहरूलाई लगाएको प्रतिबन्ध हटाउने निर्णय केही दिन अघिमात्र गरेको थियो ।