चन्द्रौटा। प्रहरीले न्यायसङ्गत छानबिन नगरेको भन्दै नेपालगन्जका महिलाहरू न्याय माग्न पैदल काठमान्डौको यात्रा तय गरेका छन् । नेपालगंजवाट हिडेको सातौ दिनमा कपिलवस्तु पुगेको उनीहरु काठमान्डौ पुगेर थप आन्दोलन गर्ने जनाएका छन् । उनीहरूले महिला माथि भएको घटनालाई ढाकछोप गर्न खोजेको भन्दै न्याय दिन आग्रह गरेका छन् ।
गत साउन ५ मा बाँके नेवाजी गाउँकी नन्कुन्नी धोबी मृत भेटिइन् । झुन्डिएको अवस्थामा उनको शव घरमै भेटियो । उनी लामो समयदेखि घरेलु हिंसा व्यहोर्दै आएको र घटनाको प्रकृति हेर्दा शङ्कास्पद रहेको भन्दै पीडितले प्रहरीलाई गुहारे । तर, प्रहरीले अनुसन्धानै नगरेर आत्महत्या भनिदिएको सहभागी रुबि खानले बताइन् ।
त्यस्तै, एकल महिला निर्मला कुर्मी गत वर्ष मङ्सिर मा बेपत्ता भइन् । १६ मङ्सिर मा स्थानीयले प्रहरीमा किटानी जाहेरी दिए । तर, प्रहरीले अनुसन्धान गरेन । अहिले उनको मृत्यु भैसकेको बताइएपछि यी दुई शङ्कास्पद मृत्युको अनुसन्धानको माग गर्दै पीडित र अधिकारकर्मीले प्रदर्शन गरिरहेका छन् । सम्पत्ति हड्पनको लागि हत्या भएको हुन सक्ने भन्दै प्रहरीले छानबिनमा तदारुकता नदेखाएको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको खानको भनाई छ ।
बुधवार कपिलवस्तु प्रवेशद्धारमै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले स्वागत गर्दै न्यायको लागि आफ्नो साथ रहने प्रतिबद्धता जनाइन । अझै पनि हिंसाका घटनामा कमी नआएकोले अकालमै महिलाहरूले कहिले सम्म ज्यान गुमाउनुपर्ने ? उपप्रमुख थारुले भनिन् । शिवराज नगरपालिका वडा १ का अध्यक्ष जगत जिसीले अपराध गर्ने छुट कसैलाई नभएको जिकिर गरे । गम्भीर रूपले छानबिन गर्नुपर्ने बताउदै सरकारले पीडितलाई न्याय दिनुपर्ने बताए ।
यो यात्रामा हिडनुपुर्व १९ दिन सम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । कुनै सुनुवाइ नभएपछि राजधानीको यात्रा तय गरिएको राष्ट्रिय महिला अधिकार मञ्चकी अध्यक्ष समेत रहेकी खानले बताइन् । पैदल यात्रामा ११ जना महिला र ३ जना पुरुष रहेका छन् ।