काठमाडौं । केही समय अगाडि सार्वजनिक एक रिपोर्टअनुसार विश्वमा प्रयोगकर्ताहरुले सबैभन्दा धेरै समय बिताउने एपको पहिलो स्थानमा टिकटक रहेको छ । विश्वमा अत्यन्तै लोकप्रिय भिडियो शेयरिङ एप टिकटक चीनमा चाहिं डुइनको नामबाट उपलब्ध छ ।
डुइन चीनमा सर्वाधिक लोकप्रिय एपको रुपमा रहेको छ र यसका प्रयोगकर्ताहरुमा कम उमेरका किशोर किशोरीहरु अत्यधिक छन् ।
बालबालिकाहरुमा बढेको चिनियाँ टिकटकको लतलाई मध्यनजर गर्दै चीनले अब बालबालिकालाई एक दिनमा केवल ४० मिनेट मात्रै डुइन प्रयोग गर्न दिने भएको छ ।
आफ्नो वास्तविक पहिचानबाट डुइनमा खाता खोलेका १४ वर्षमुनिका प्रयोगकर्ताका लागि यो नियम लागू हुनेछ । बालबालिकाहरुले बिहानको ६ बजेदेखि रातको १० बजेसम्मको अवधिमा केवल ४० मिनेट मात्रै डुइन चलाउन पाउनेछन् ।
चिनिया टिकटकको मातृ कम्पनी बाइटडान्सले एक ब्लगपोष्टमार्फत् डुइनमा युथ मोड को घोषणा गरेको छ । बालबालिकाहरुलाई डिजिटल अम्मलबाट जोगाउनका लागि यस्तो सीमा राख्ने आफू नै पहिलो प्लाटर्फम रहेको दाबी कम्पनीको छ ।
गत महीनादेखि चीन सरकारले १८ वर्षमुनिका किशोर किशोरी तथा बालबालिकाहरुलाई शुक्रबार र बिदाका दिनमा बाहेक भिडियो गेम खेल्न प्रतिबन्ध लगाएको छ ।
किशोर किशोरी तथा बालबालिकाहरुले अब शुक्रबार, सप्ताहन्त तथा विदाका दिनहरुमा मात्रै हरेक दिन केवल एक घण्टा भिडियो गेम खेल्न पाउनेछन् । त्यस्तै गत फेब्रुअरीदेखि चीनले विद्यार्थीहरुलाई विद्यालयमा फोन प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ ।