रोल्पा । नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाको स्वास्थ्य, खानेपानी, सरसफार्इ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य परियोजना अन्तर्गतको अन्तिम समीक्षा कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।
रोल्पाको परिवर्तन गाउँपालिकाको पुतलाचौरमा भएको कार्यशाला कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डिबी घर्तीमगरको अध्यक्षता तथा प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढामगरले रेडक्रस सोसाइटी आपतकालीन अवस्थामा मात्र काम गर्ने संस्था भएको र काम गर्न आफुहरु तयार रहेको बताए ।
साथै संस्थाले दिएको जिम्मेवारीबाट पछाडि नहट्ने पनि बताए । उनले नेपाल रेडक्रस रोल्पा अन्तिम नभएको र काम गर्ने समय मात्र सकिएको बताउदै परिवर्तन गाउँपालिकामा गुण लगाएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि रहेका नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका सभापति तथा केन्द्रीय सदस्य शम्भु पोख्रेलले रोल्पा कुनै पनि अवसरबाट वञ्चित नहुने बताए । त्यस्तै अर्का विशिष्ट अतिथि परिवर्तन गाउँपालिकाका प्रमुख निमकांन्त डाँगीले परिवर्तन गाउँपालिकामा राम्रो काम भएको बताए । आफ्नो पालिकामा आफुहरुसँगै काम गरेको र पारदर्शी तरिकाले काम गरेको बताए ।
सो समीक्षा कार्यशाला कार्यक्रममा परिवर्तन गाउँपालिका प्रशासकीय अधिकृत डिल्ली खड्का, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीन लोचन मगरलगायतकाले बोलेका थिए ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डिबी घर्तीमगरले रेडक्रस रोल्पा अन्तिम नभएको बताउदै आफुहरुको तीन बर्षे कार्यकाल मात्र सकिएको र आफूहरुको साथ सहयोग निरन्तर रह्ने उनको भनाइ रहेको थियो । परियोजना २०१८ सेप्टेम्बर देखि २०२१ सेप्टेम्बरसम्म सञ्चालन रहेको थियो।
परिवर्तन गाउँपालिकामा तीन बर्षमा स्वास्थ्यका लागि सामुदायिक सहकार्य परियोजनामा नेपाल रेडक्रस तर्फबाट २ करोड ४३ लाख ३१ हजार ६ सय ५० रुपियाँ, सरोकारवाला निकायहरुको तर्फबाट ३२ लाख ५० हजार जम्मा २ करोड ७५ लाख ८१ हजार ६ सय ५० रुपियाँ खर्च भएको छ भने खानेपानी, सरसफार्इ तथा स्वच्छताका लागि सामाजिक सहकार्य परियोजनामा रेडक्रस तर्फबाट ३ करोड ७८ लाख ७६ हजार ४ सय १९ रुपियाँ, सरोकारवाला निकायहरुको तर्फबाट १ करोड १० लाख गरि जम्मा खर्च ४ करोड ८८ लाख ७६ हजार ४ सय १९ रुपियाँ भएको बताइएको छ।
साथै कार्यक्रममा विभिन्न संस्थामा काम गर्ने व्यक्तिहरुलाई सम्मान पत्र र प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाकी उपसभापति टीका कुमारी बुढामगरको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रममा अन्तिम समीक्षा कार्यशालाको तीन वर्षको उपलब्धि विवरण परियोजना रोल्पाका अधिकृत लक्ष्मण स्वर्नकार प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका उपसभापति भिम बहादुर बुढामगरले गरेका थिए ।